दुर्गा प्रसाईँको मेडिकल कलेजलाई सञ्चालन अनुमति दिन सर्वोच्चको आदेश


मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाईको मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धन दिन सर्वोच्च अदालतले आदेश दिएको छ । सोमबार सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको प्रसाईँको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको हो ।

न्यायाधीशहरू डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको संयुक्त इजलासले प्रक्रिया पुगेको अवस्थामा बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो । दुर्गा प्रसाईँंले गरेको माग दाबी अनुसारको फैसला भएको सर्वोच्च अदालतले जनाएको छ ।

मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट प्रारम्भिक अनुमति पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति दिएको थिएन । सञ्चालन अनुमति नपाएपछि प्रसाईँले चिकित्सा शिक्षा आयोग सानोठिमी, काठमाडौं विश्वविद्यालय धुलिखेल र सरकारबिरुद्ध २०७७ साल असार २१ गते रिट दायर गरेका थिए । प्रसाईँको रिट निवेदनका आधारमा सोमबार सर्वोच्चले कलेज सञ्चालनका लागि सम्बन्धन दिन आदेश दिएको हो ।

कलेज सञ्चालनको अनुमति नपाए पछि बैंक वित्तीय संस्थाको ऋण तिर्न नसकेका प्रसाईँ एकाएक राजनितिज्ञ सरह अभियानमा लागेका थिए । बैंकहरुले ऋण तिर्न ताकेता गर्दा सञ्चालन अनुमति नपाएको अवस्थामा शर्त अनुसारको व्यवहार नभएको भन्दै प्रसाईँले बैंकका बिरुद्ध पनि मुद्धा हालेका छन् ।

उच्च राजनितिक नेतृत्वसँगको विगतको घनिष्ठ सम्बन्धका आधारमा नेता तथा बैंक वित्तीय संस्थाको बिरुद्धमा अभियान नै चलाएका प्रसाई सोही अभियानका कारण एकाएक चर्चामा पुगेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।