सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेमा वैदेशिक रोजगारीमा गएका श्रमिकको संख्या उच्च


सामाजिक सुरक्षा कोषमा सबैभन्दा बढी वैदेशिक रोजगारीमा गएका श्रमिक आबद्ध भएका छन् । कोषले चैत दोस्रो सातादेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा आबद्ध गरेको थियो ।

एक वर्षको अवधिमा कोषमा वैदेशिक रोजगारीमा गएका ७ लाख ३७ हजार १५२ योगदानकर्ता आबद्ध भएका हुन् । यस्तै, चार लाख ८८ हजार ८४८ औपचारिक क्षेत्रमा कार्यरत योगदानकर्ता, २२१ जना अनौपचारिक क्षेत्रमा योगदानकर्ता र सबैभन्दा कम ७८ जना स्वरोजगार क्षेत्रका योगदानकर्ता कोषमा आबद्ध भएका छन् ।

अहिलेसम्म कोषमा ५१ अर्ब ७७ करोड योगदान रकम जम्मा भएको छ । जसअन्तर्गत, कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत १ अर्ब ४९ करोड १९ लाख ३३ हजार रुपैयाँ रकम संकलन गरेको छ भने दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजना ३ अर्ब ३ करोड ७२ लाख १६ हजार रुपैयाँ संकलन गरेको छ ।

यस्तै, कोषले वृद्ध अवस्था सुरक्षा कोषतर्फ ४३ अर्ब ३९ करोड ५८ लाख ८७ हजार रुपैयाँ संकलन गरेको छ भने अतिरिक्त योगदानबाट ९१ करोड ९३ लाख ७० हजार रुपैयाँ संकलन गरेको छ ।

सामाजिक सुरक्षा कोषमा १८ हजार ७८७ रोजगारदातामार्फत १२ लाख २६ हजार २९९ जना योगदानकर्ता सूचीकृत भएका छन् । पाँच वर्षको अवधिमा योगदानकर्ता सूचीकृत भएका हुन् । सरकारले २०७५ मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो । यता, २९ दुई लाख ९६ हजार ७७७ योगदानकर्ताले आठ अर्ब ३३ करोड रुपैयाँ विभिन्न योजनावाफत भुक्तानी लिइसकेको कोषले जनाएको छ ।

हालसम्म ८ अर्ब ३५ करोड दाबी भुक्तानी

सामाजिक सुरक्षा कोषका औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना गरी चार योजनामा सवा लाखभन्दा बढीलाई ८ अर्ब ३५ करोड रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ ।

जसमध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा ५७ हजार ४३७ जनालाई ९६ करोड ६१ लाख ४५ हजार रुपैयाँ भुक्तानी गरिएको छ । यस्तै दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा २ हजार ९४५ जनालाई ११ करोड २९ लाख ५६ हजार रुपैयाँ भुक्तानी गरिएको छ ।

त्यसै गरी आश्रित परिवार सुरक्षा योजनामा ४७७ जनालाई १३ करोड २५ लाख ४८ हजार रुपैयाँ भुक्तानी गरिसकिएको छ । वृद्धावस्था सुरक्षा योजनामा ७२ हजार ७८१ जनालाई ७ अर्ब १४ करोड ६९ लाख ७३ हजार दाबी भुक्तानी गरेको कोषले जनाएको छ ।

कुन प्रदेशबाट कति भए सूचीकृत ?

सामाजिक सुरक्षा कोषमा सबैभन्दा धेरै बागमती प्रदेशबाट ३ लाख ७४ हजार ७८९ श्रमिक सूचीकृत भएका छन् । बागमती प्रदेशबाट १२ हजार ९४६ रोजगारदाता मार्फत ३ लाख ७४ हजार ७८९ श्रमिक सूचीकृत भएका हुन् ।

यस्तै कोशी प्रदेशबाट १ हजार ९७० रोजगारदाता मार्फत ४९ हजार ७०० श्रमिक सूचीकृत भएको हुन् । यस्तै मधेस प्रदेशबाट ९०१ रोजगारदाता मार्फत २४ हजार ७२४ जना, गण्डकी प्रदेशबाट ८७६ रोजगारदाता मार्फत १८ हजार ९५१, लुम्बिनी प्रदेशबाट १ हजार ५६० रोजगारदाता मार्फत १६ हजार ९८६, सुदूरपश्चिम प्रदेशबाट २७७ रोजगारदाता मार्फत २ हजार २६ जना श्रमिक सूचीकृत भएका छन् ।

सबैभन्दा कम कर्णाली प्रदेशबाट २७७ रोजगारदाता मात्र सूचीकृत छन् । सो प्रदेशबाट १ हजार ४०९ श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।