ग्रीन डेभलपमेन्ट बैंकले संस्थापक सेयर हिस्सा घटाउने

0
Shares

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर हिस्सा घटाउने भएको छ । बैंकले हाल कायम संस्थापक सेयरको हिस्सा घटाएर ५१ प्रतिशतमा झार्ने भएको हो ।

संस्थापक सेयर अनुपात परिवर्तन गर्ने सम्बन्धमा बैंकले नियामक निकाय नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागबाट २०८० चैत ७ गते स्वीकृती प्राप्त गरेको छ ।

उपरोक्त सम्बन्धमा डेभलपमेण्ट बैंकले ५१ः४९ अर्थात संस्थापक सेयर कायम गरेसँगै संस्थापक सेयर २६ लाख ४६ हजार ९०० कित्ता र साधारण सेयर २५ लाख ४३ हजार १०० कित्ता कायम हुनेछ । हाल संस्थाको संस्थापक र साधारण सेयरको अनुपात ५५ः४५ रहेको छ ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागबाट संस्थापक सेयर हिस्सा घटाउन अनुमति पाएसँगै बैंकले २०८० चैत्र २७ गते सम्पन्न हुने दशौं तथा एघारौं संयुक्त साधारण सभामा सेयर अनुपात परिवर्तन सम्बन्धी विशेष प्रस्ताव थप गर्ने निर्णय गरेको छ ।

संस्थाको सञ्चालक समितिको २०८० चैत्र १५ गते अपरान्ह ३ः३० बजे बसेको २०७ औं बैठकको निर्णय बमोजिम आगामी साधारण सभामा सेयर अनुपात परिवर्तन सम्बन्धी विशेष प्रस्ताव थप गर्ने निर्णय गरेको कम्पनी सचिव प्रकाश गुरुङ्गले जानकारी दिए ।

यसअघि डेभलपमेण्ट बैंकको २०८० फागुन २४ को साधारण सभाको विशेष प्रस्तावमा ४ नम्बर बुँदामा सेयर अनुपात सम्बन्धी विषय थप गरिएको हो । उक्त प्रस्ताव साधारण सभाबाट पारित भएपछि कार्यान्वयन हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।