कतारबाट भित्रन्छ नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स, अमेरिका छैटौं स्थानमा

0
Shares

नेपालमा सबैभन्दा धेरै विप्रेषण (रेमिट्यान्स) कतारबाट भित्रने गरेको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पहिलो चार महिनामा कतारबाट सबैभन्दा धेरै अर्थात कूल रेमिट्यान्सको १७.७ प्रतिशत विप्रेषण प्राप्त भएको छ।

चालु आर्थिक बर्षको पहिलो चार महिनमा कूल ३ खर्ब ४ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएकोमा कतारबाट मात्रै ५३ अर्ब ९३ करोड आएको छ। यस अवधिमा भारतबाट ४३ अर्ब १६ करोड विप्रेषण भित्रिएको राष्ट्र बैंकले जनाएको छ। जुन कूल रेमिट्यान्सको १४.२ प्रतिशत हो।

आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिनाको तथ्याङ्क अनुसार खाडी मुलुकहरुबाट प्राप्त हुने विप्रेषण कूल विप्रेषणको ५०.३ प्रतिशत रहेको छ। यी मुलुकहरुमध्ये सबभन्दा बढी विप्रेषण कतार (१७.७ प्रतिशत) बाट प्राप्त भएको छ भने दोश्रो स्थानमा यू.ए.ई. (१३.४ प्रतिशत) रहेको छ ।

त्यस्तै साउदी अरेबिया तथा मलेशियाबाट प्राप्त विप्रेषण कूल विप्रेषणको क्रमशः १२.५ प्रतिशत र ९.७ प्रतिशत रहेको छ । बहराइन तथा कुवेत जस्ता खाडी मुलुकहरुबाट प्राप्त हुने विप्रेषण रकम कूल विप्रेषणको ४ प्रतिशत भन्दा कम रहेको पाइएको छ ।

प्रमुख श्रम गन्तव्य मलेसियामा कामदार जाने क्रम बन्द भएका कारण आर्थिक वर्ष २०७५/७६ मा मलेशियाबाट प्राप्त विप्रषेण घटेको राष्ट्र बैंकले जनाएको छ। मलेसियासँग द्विपक्षीय सम्झौता पश्चात् आगामी दिनमा मलेशिया जानेको संख्याका साथै त्यहाँबाट प्राप्त विप्रेषणमा वृद्धि हुने अनुमान गरिएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकार भट्टले बताए।

खाडी मुलुकहरु र मलेशिया बाहेक विप्रेषण प्राप्त हुने अन्य मुलुकहरुमा संयुक्त राज्य अमेरिका, जापान र दक्षिण कोरिया महत्वपूर्ण रहेका छन्। पहिलो चार महिनामा अमेरिकाबाट २५ अर्ब ४२ करोड रेमिट्यान्स भित्रिएको छ। त्यस्तै जापानबाट २२ अर्ब ८७ करोड नेपाल भित्रिएको छ।

राष्ट्र बैंकका अनुसार नेपालको गरिबी न्यूनीकरण लगायत सामाजिक एवं मानव विकास सूचकाङ्कमा भएको उल्लेख्य सुधारमा समेत वैदेशिक रोजगारीमा गएकाहरुको आर्जनको महत्वपूर्ण योगदान रहेको छ।

विगत दश वर्षमा विप्रेषण आप्रवाहको कूल गार्हस्थ्य उत्पादनसँगको औसत अनुपात २५ प्रतिशत रहेको छ ।आर्थिक वर्ष २०७६।७७ को पहिलो चार महिनाको तथ्याङ्क अनुसार कुल रोजगारीमा जाने कामदारमध्ये ७५.३ प्रतिशत खाडी मुलुकतर्फ गएका छन् भने खाडी मुलुकहरुबाट प्राप्त हुने विप्रेषण कुल विप्रेषणको करिब ५०.३ प्रतिशत रहेको छ ।

विप्रेषण नेपाल पठाउँदा लाग्ने औसत लागत विश्वको औसत भन्दा कम देखिएता पनि भारत र बंगलादेशको भन्दा बढी रहेको छ।