अन्तिम ओभरमा सागर ढकालले २३ रन खर्चिदा आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य


आयरल्याण्ड वुल्भ्सविरूद्ध जितका लागि नेपाल ‘ए’ ले २२३ रनको लक्ष्य पाएको छ।

त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले नेपालविरूद्ध पहिले ब्याटिङ गरेको आयरल्याण्ड वुल्भ्सले २० ओभरमा ५ विकेट गुमाएर २२२ रनको विशाल योगफल तयार पारेको हो। पहिलो ओभरमै विकेट लिएको नेपालको त्यसपछि कमजोर बलिङ र फिल्डिङ गर्दा आयरल्याण्डले विशाल योगफल बनाउन सकेको हो।

नेपाललाई दसौं ओभरमा मात्र दोस्रो विकेट प्राप्त भएको थियो। उक्त ओभरको अन्तिम बलमा सागर ढकालले कारमिचेललाई एलबिडब्लु धरापमा पारेका थिए। कारमिचेलले २९ बलमा ४ चौका र १ छक्का प्रहार गरी ३८ रन बनाएका थिए। त्यसपछि ११ औं ओभरमा तेस्रो विकेटका रूपमा ओपनर पिटर मुर आउट भएका थिए।

४९ रन बनाएर खेलिरहेका उनी आरिफ शेखबाट बोल्ड हुँदा अर्धशतक बनाउनबाट चुकेका थिए। त्यसपछि कमलसिंह ऐरीले नै चौथो विकेट लिए। उनले १५ औं ओभरको चौथो बलमा आयरल्याण्ड वुल्भ्स्सका स्टेफेन डोहनीलाई सागर ढकालबाट क्याच आउट गराए।

डोहनी १६ बलमा ४ चौका र २ छक्का प्रहार गरी ३४ रन बनाएर खेलिरहेका थिए। १९ औं ओभरको पहिलो बलमा पुनः कमल ऐरीले विकेट लिए। उनले कप्तान नेइल रकलाई आउट गरेका थिए। रक २३ बलमा १ चौका र ३ छक्का प्रहार गरी ३८ रन बनाएर खेलिरहेका थिए।

आयरल्याण्डका ग्यारेथ डेलानी ३० र ग्याबिन होय १८ रन बनाएर नटआउट रहे। अन्तिम ओभरमा सागर ढकालले तीन छक्का र एक चौकासहित २३ रन खर्चिएका थिए।

नेपालको प्लेइङ इलाभेनमा विनोद भण्डारी, लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर अहमद, रसिद खान, सागर ढकाल, कमलसिंह ऐरी र हेमन्त धामी छन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।