पर्यटकको संख्या २८ प्रतिशतले बढ्यो, मार्चमा एक लाख २८ हजार भित्रिए


यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८.९ प्रतिशतले बढेका छन् । नेपाल पर्यटक बोर्डका अनुसार गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्या २८ हजार ७४१ ले वृद्धि भएको हो ।

गत वर्षको मार्चमा कुल ९९ हजार ४२६ विदेशी पर्यटक नेपाल भित्रिएकोमा यस वर्षको सोही अवधिमा १ लाख २८ हजार १६७ पर्यटक नेपाल आएका छन् ।

मार्चमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् । भारतबाट सो अवधिमा ३० हजार ६९८ पर्यटक नेपाल आएका छन् । चिनियाँ पर्यटकको सङ्ख्या भने १२ हजार ९३ रहेकाे छ । बोर्डका अनुसार सो अवधिमा अमेरिकाबाट १० हजार ७७३ र बेलायतबाट ७ हजार २४१ जना, श्रीलङ्काबाट ५ हजार ७४१, जर्मनीबाट ५ हजार २५५, थाइल्याण्डबाट ४  हजार ३४५, फ्रान्सबाट ३ हजार २४० र म्यानमारबाट ३ हजार १३१ जना विदेशी पर्यटक नेपाल आएका छन् ।

क्षेत्रीय हिसाबले हेर्दा एसिया (सार्क) बाट ४० हजार ७२७, एसिया (अन्य) बाट २८ हजार ६४८, यू्रोपबाट २७ हजार ५८२, ओसनियाबाट ४ हजार ७८० र क्यानडा र अमेरिकाबाट १२ हजार ६१४ जना पर्यटक नेपाल आएका छन् ।

यस वर्षको जनवरीमा ७९ हजार १०० र फेब्रुअरीमा ९७ हजार ४२६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२३ को पहिलो तीन महिनामा २ लाख २७ हजार ७५५ जना विदेशी पर्यटक नेपाल भित्रिएकोमो सन् २०२४ को पहिलो तीन महिनामा ३ लाख ४ हजार ६९३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जुन ३३.७८ प्रतिशतले बढी हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।