गोल्छा समुहको हुलास फिन सर्भको खुद नाफा २७.४२% बढ्यो

0
Shares

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (साबिक हुलास फिन सर्भ) को खुद नाफा २७.४२% प्रतिशतले बढेको छ । व्यवसाय बढेपछि गोल्छा समुहको हायर पर्चोज फाइनान्सिङ संस्थाको खुद नाफा गत आवको सोही अवधिको तुलनामा ४२ लाख ७३ हजार ६३९ रुपैयाँले बढेको हो ।

आर्थिक वर्ष २०८०–८१ को ६ महीना अवधिमा यस कम्पनीले १ करोड ९८ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत आवको सोही अवधिमा कम्पनीले १ करोड ५५लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।  चालु आर्थिक वर्षको ६ महीना अवधिमा कम्पनीले ८ करोड ३९ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ७ लाख ३९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

कम्पनीको शुल्क तथा कमिशन आय ८ करोड ९२ लाखबाट २ करोड ५४ लाखले बढेर ११ करोड ४६ लाख १६ हजार आम्दानी गरेको छ । कर्जा असुली प्रभावित हुँदा ६ करोड ८८ लाख ३७ हजार रुपैयाँ नोक्सानी व्यवस्था गरेको कम्पनीले चालु आवको ६ महीना अवधिमा अन्य सञ्चालन आम्दानी र नेट ट्रेडिङ्ग इन्कम गरेको छैन ।

कम्पनीले ग्लोबल आइएमई बैंकबाट २१ करोड ६८ लाख, एभरेष्ट बैंकबाट ५९ करोड ६९ लाख र सानिमा बैंकबाट ५७ करोड ३७ लाख गरी कुल १ अर्ब ३८ करोड ७४ लाख रुपैयाँ कर्जा लिएको छ । चुक्ता पुँजी ८० करोड रहेको हुलास फिन सर्भ कम्पनीको रिटेर्न अर्निङ्गमा २२ करोड ८६ लाख ३७ हजार रुपैयाँ र अन्य जगेडा कोषमा १४ करोड ५२ लाख ४२ हजार रुपैयाँ सञ्चित छ ।

चालु आवको ६ महीना अवधिमा हुलास फिन सर्भले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ५६ करोड ३० लाख २० हजार रुपैयाँ कर्जा सापटी लिएको छ । गोल्छा समूहको संलग्नता रहेका कारण कम्पनीलाई बैंक कर्जा प्राप्त गर्न र वित्तीय पृष्ठभूमि राम्रो बनाउन सहयोग मिलेको छ ।
कम्पनीले बजाज ब्रान्डका दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे मोटर साइकल तथा स्कूटर र केटिएम डुक बाइकको फाइनान्सिङ गर्दै आएको छ ।

कम्पनीले २०८० पुससम्ममा २ अर्ब ७५ करोड १५ लाख ४३ हजार रुपैयाँ फाइनान्सिङ गरेको छ । नेपालभर बजाज कम्पनीका १५० बढी डिलर सञ्चालनमा रहेका छन् । सबै डिलरका लागि मोटरसाइकल बिक्री गर्दा फाइनान्सिङ्ग गर्नु परेको खण्डमा हुलास फिन सर्भ मार्फत नै हुन्छ ।
नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज कर्जा लगानी गर्न स्वीकृती पाएको संस्थाको एसेट १ अर्ब १० करोड ५७ लाखले घटेर २ अर्ब ७५ करोड ५ लाख रुपैयाँ बरावरको छ । चालु आवको ६ महीना अवधिमा संस्थाको वार्षिक प्रतिसेयर आम्दानी ४ रुपैयाँ ९६ पैसा र प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ७४ पैसा रहेको छ । कुल नेटवर्थ १ अर्ब १७ करोड ३८ लाख ८० हजार रहेको छ ।

नेपालमा १०० वर्ष लामो व्यवसायिक इतिहास रहेको गोल्छा ग्रुपको हुलास फीन सर्भमा ८५ प्रतिशत सेयर रहेको छ । यसैगरी बाँकी १५ प्रतिशत हिस्सा हुलास अटोक्याफ्ट र हिम इलेक्ट्रोनिक्स प्रालिको रहेको छ । हुलास फिन सर्भका प्रबन्ध निर्देशक शेखर गोल्छा रहेका छन् । कम्पनीमा पौने २ सय जनाले रोजगारी पाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।