नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्चालक निर्वाचन स्थगित

0
Shares

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको भोलि हुने साधारण सभामा राखिएको सञ्चालकको निर्वाचन स्थगित भएको छ ।

बैंकका कम्पनी सचिव मनिष कुमार सिंहले सर्वोच्च अदालतको अल्पकालीन आदेशका कारण निर्वाचनको प्रकृया हाललाई स्थगीत गरिएको जानकारी दिए ।

अदालतको आदेशपछि आज बसेको बैंक सञ्चालक समितिको बैठकले ३७ औ वार्षिक साधारणभाको सामान्य प्रस्तावको बुँदा नं ५ अन्तर्गतको संस्थापक सेयरधनीको तर्फबाट चार जना र सर्वसाधारण सेयरधनीको तर्फबाट दुईजना सञ्चालकलाई निर्वाचन गराउने प्रस्ताव हाललाई स्थगित गरिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलासले आइतबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसमेत १० जनाविरुद्ध प्रा.डा. ताराप्रसाद सापकोटाले चैत १६ गते सञ्चालक समितिको निर्वाचनमा केही सञ्चालकको योग्यता नपुगेको भन्दै दायर रिटमा इजलासले कारण देखाउ आदेश जारी गरेको छ । अदालतले मतदानको कार्य स्थगित गरि यथास्थितिमा राख्न चैत १८ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै निर्वाचन प्रकृया हाललाई स्थगित गरिएको बैंकले जनाएको छ ।

गत आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउने प्रस्ताव सहित बैंकले भोलि साधारण सभा बोलाएको छ ।

फागुन १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २४ गतेदेखि सभा नभएसम्मको अवधिसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा फागुन २३ गतेसम्म कायम सेयर धनीहरू मात्र सभामा भाग लिन सक्नेछन् । साबिक नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल एक भई नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नामबाट २०७९ साल पुस २७ गतेदेखि एकीकृत कारोबार गरेका हुन । दुई कम्पनी एक भएको वर्ष लगानीकर्ताको हात खाली भएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।