मेरो माइक्रोफाइनान्सको क्रमबद्ध प्रगति, यस्तो छ दोस्रो त्रैमास

0
Shares

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (MERO) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ करोड १९ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत आवको यसै अवधिमा ६ करोड १८ लाख ५८ हजार नाफा आर्जन गरेको यस लघुवित्तले आफ्नो नाफा ३२.५५ प्रतिशतले बढाएको हो ।
७ वाणिज्य बैंक र २ विकास बैंकको प्रवर्दनमा स्थापित राष्ट्रिय स्तरको यस लघुवित्तले आफ्नो व्यवसाय विस्तारका साथै समग्र वित्तीय सूचकहरुमा क्रमिक र योजनाबद्ध वृद्धि गर्दै आइरहेको छ।

चुक्ता पूँजी ८५ करोड ५१ लाख ४० हजार रुपैयाँ रहेको यस माइक्रोफाइनान्सको वार्षिक प्रतिशेयर आम्दानी १९ रुपैयाँ १८ पैसा कायम भएको छ। जगेडा कोषमा २६ करोड ८० लाख ७२ हजार रुपैयाँ सञ्चित रहेको यस लघुवित्तको प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ३५ पैसा छ। यस्तै मूल्य आम्दानी अनुपात भने ३१.३९ गुणा छ।

पुस मसान्तसम्ममा लघुवित्तले १ अर्ब ४५ करोड निक्षेप र बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब ५७ करोड सापटीबाट आफ्ना सदस्यहरुमा ५ अर्ब १३ करोड कर्जा प्रवाह गरेको छ । यसबाट लघुवित्तले २४ करोड १९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत आवको यसै अवधिको तुलनामा ६०.४५ प्रतिशत धेरै हो। लघुवित्तको सञ्चालन मुनाफा ११ करोड ७ लाख रुपैयाँ छ।

दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार माइक्रोफाइनान्सको निष्क्रिय कर्जा १.८७ प्रतिशतबाट घटेर १.८० प्रतिशतमा, पूँजीको अनुपात १६.६९ बाट बढेर १७.४७ प्रतिशतमा, कोषको लागत ८.८६ बाट १०.६९ प्रतिशतमा बढेको छ ।

पुस मसान्तसम्म लघुवित्तले ११० शाखा कार्यालय मार्फत १ लाख ७ हजार ३८३ विपन्न परिवारमा लघु वित्तीय सेवा प्रवाह गरेको छ ।