रणनीतिक साझेदार भित्र्याएपछि युनाइटेड फाइनान्समा देखियो निरन्तर सुधार

0
Shares

युनाइटेड फाइनान्स (UFL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा गत आवको यसै अवधिको तुलनामा २३.४२ प्रतिशतले खुद नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

 मुत्तूट फाइनान्सलाई रणनीतिक साझेदारको रुपमा भित्र्याएपछि फाइनान्सको प्रगतिमा निरन्तर सुधार आउन थालेको छ । फाइनान्सले भारतको कोचीस्थित मुत्तूट फाइनान्सलाई १९० रुपैयाँका दरले २१ लाख कित्ता नयाँ संस्थापक संस्थापक एफपिओ बिक्री गरेर वैदेशिक रणनीतिक साझेदारीको रुपमा भित्र्याएको थियो ।

फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अर्थात पुस मसान्तसम्म ४ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो पुससम्म फाइनान्सको नाफा ३ करोड ३३ लाख रुपैयाँ मात्रै थियो । फाइनान्सले गत पुस मसान्तको तुलनामा ७८ लाख रुपैयाँले नाफा बढाएको हो ।

६ महिनाको अवधिमा कम्पनीको वितरण योग्य मुनाफा भने २ करोड १९ लाख रुपैयाँ छ । जसको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९१ पैसा तथा नेटवर्थ १४३ रुपैयाँ कायम भएको छ ।

युनाइटेडले पुस मसान्तसम्म ६ अर्ब ८१ करोड निक्षेप संकलन गरेर ५ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । जसबाट फाइनान्सले ८ करोड ७३ लाख खुद ब्याज आम्दानी गरेको छ ।

एक अर्ब ४ करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २४ करोड, शेयरधनीकोषमा १५ करोड तथा रिटेन अर्निङमा ४ करोड जम्मा गरेको छ ।

कम्पनीको खराब कर्जाको आकार भने ०.९९ प्रतिशतबाट बढेर १.२९ प्रतिशत पुगेको छ । जसको स्प्रेड दर ४.९७ प्रतिशत छ भने आधार ब्याजदर १२.३४ प्रतिशत छ । कस्ट अफ फण्ड ९.३१ प्रतिशत छ ।