रिडी पावरको हकप्रद सेयर बाँडफाँड, अवितरित ११ लाख लिलाममा


रिडी पावर कम्पनीले हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले माघ २१ गतेसम्म कायम शेयरधनीहरुलाई कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । उक्त सेयर मंगलबार बाँडफाँड गरिएको हो ।

कम्पनीले ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। सोमध्ये ६० हजार ६०२ लगानीकर्ताले कुल ६६ लाख ८ हजार ८४९ कित्ता हकप्रद शेयरका लागि आवेदन परेको थियो ।

कम्पनीले आवेदन नपरेको ११ लाख ३५ हजार ६५७ कित्ता शेयर चैत २९ गतेदेखि शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। सो शेयर खरिदका लागि इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले वैशाख ९ गतेभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी अंकित मूल्य गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। शेयर खरीदको लागि बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद लाग्ने छैन । तर शेयर खरिद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा नियमक निकायले एउटा व्यक्ति वा संस्था ÷ कम्पनीले खरीद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम संख्या सीमा भन्दा बढी नहुने गरी आवेदन पेश गर्नु पर्नेछ । दशमलव\खण्डित रुपमा आउने गरी शेयर संख्याको लागि आवेदन गर्न पाइने छैन ।

शेयर बाँडफांड गर्दा सबै भन्दा बढी प्रति शेयर मूल्य कबोल गर्ने बोलपत्रदातालाई बाँडफाँड गरिनेछ । यसबाट पनि शेयर बाँकी रहेमा त्यस पछिको बढी प्रति शेयर मूल्य कबोल गर्नेलाई बाँडफाँड गरिनेछ । बोलकबोलमा शेयर बाँडफाँड गर्दै जाँदा अन्तिम मूल्यमा दुई वा दुई भन्दा बढी आवेदकहरु पर्न गएमा बोलकबोलबाट बाँकी भएको शेयरहरु माग भएको शेयर संख्याको सापेक्षिक भार अनुसार दामासाहीले बाँडफाँड गरिनेछ । बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार निष्काशन कम्पनीमा निहित रहनेछ ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुङ्गा–पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही–दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २२ चैत्र २०८०, बिहिबार  १० : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।