आगामी आर्थिक वर्षका लागि कृषि मन्त्रालयले कुल ५१ अर्ब ८८ करोड ९५ लाख रुपैयाँको बजेट सिलिङ पाएको छ। सरकारले तोकेको उक्त सिलिङ्गबाट मन्त्रालयले चालु वर्षको सरह रासायनिक मल खरिदका लागि अनुदान वापत ३० अर्ब मललाई छुट्याउने तायरी गरेको छ ।
चालु आर्थिक वर्षका लागि कृषि मन्त्रालयले ५२ अर्ब ४६ करोड रुपैयाँ सिलिङ पाएकोमा पछि बढाएर ५८ अर्ब ९८ करोड रुपैयाँ बजेट छुट्याएको थियो ।
मन्त्रालयले बजेट सिलङ्ग पाएपछि योजना शाखा आगामी आर्थिक वर्षका लागि बजेटबारे छलफलमा जुटेको छ । आगामी आवका लागि केके कार्यक्रमलाई निन्तरता दिने, कुनलाई हटाउने र के कस्ता नयाँ कार्यक्रम थप गर्नेबारे छलफलमा जुटेको हो ।
३० अर्ब रुपैयाँले कुल ६ लाख मेट्रिक टन रसायनिक मल ल्याउन सकिन्छ । विश्व बजारबाट आयात गर्दा नेपालसम्म आइपुग्न युरिया ४७० अमेरिकी डलर प्रतिमेट्रिक टन, डीएपी ७५० र पोटास ४६० अमेरिकी डलर प्रतिमेट्रिक टन लागत लाग्ने गर्दछ । यस आधारमा २९ अर्ब ४७ करोड मा ६ लाख मेट्रिक टन मल ल्याउन सकिन्छ । गत वर्ष २०७९–८० मा मलको मूल्य विश्व बजारमा महँगो भएपनि यो वर्ष रासायनिक मलको मूल्य घटेकाले ३० अर्ब रुपैयाँ भए ६ लाख मेट्रिक टन ल्याउन सकिने अवस्था छ ।
चालु आर्थिक वर्षमा रासायनिक मललाई सरकारले ३० अर्ब रुपैयाँ बजेट छुट्याएको थियो। जसमध्ये अर्थ मन्त्रालयले रासायनिक मल आयातका लागि निकासा गरेको १६ अर्ब रुपैयाँ मल आयातमा खर्च भइसकेको छ । चालु आवको ६ लाख मेट्रिक टन लक्ष्य हो जसमध्ये ३ लाख ११ हजार मेट्रिक टन बढी मल आयात भइसकेको छ । अब २ लाख ८९ हजार मेट्रिक टन बढी मल आयात हुन बाँकी छ । आर्थिक अभावका कारण अर्थ मन्त्रालयले अन्य स्रोतबाट रकम उपलब्ध गराउन नसकेपछि मलका लागि छुट्टाइएको रकमबाटै ५२ करोड रुपैयाँ उखु किसानलाई अनुदान वापतको रकम भुक्तानी दिइएको छ ।
मौज्दातमा कति छ मल ?
चालु वर्षको कुल आयातमध्ये चैत १५ गतेसम्म ९८ हजार ९९३ दशमलव ४० मेट्रिक टन मौज्दात रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । जसमध्ये ७६ हजार ५७८ दशमलव ७० मेट्रिक टन युरिया, १८ हजार ७७२ दशमलव ४० मेट्रिक टन डीएपी र ३ हजार ६४२ दशमलव ३० मेट्रिक टन पोटास मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।
कुल ६ लाख मेट्रिक टन मल आयतके लक्ष्य रहेकोमा चैत १५ गतेसम्म कुल ३ लाख ११ हजार २७७ दशमलव ५८ मेट्रिक टन मल आयात भइसकेको कृषि मन्त्रालयले जनाएको छ । जसमध्ये २ लाख २ हजार २४८ दशमलव १९ मेट्रिक टन युरिया, ९७ हजार ८६५ दशमलव ८० मेट्रिक टन डीएपी र ११ हजार १६३ दशमलव ५९ मेट्रिक टन पोटास आयात भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
गत वर्ष २०७९–८० को सोही अवधिमा कुल २ लाख ८३ हजार ११४ दशमलव ६० मेट्रिक टन मल आयात भएको थियो। जसमध्ये १ लाख ६७ हजार ९१ दशमलव ८५ मेट्रिक टन युरिया, १ लाख ६ हजार ८६० दशमलव ७५ मेट्रिक टन डीएपी आयात भएको थियो भने ९ हजार १६२ मेट्रिक टन पोटास आयात भएको थियो।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया