चालु आर्थिक वर्ष (आव) २०८०/८१ सुरुबाट नै उच्च दरमा बढेको रेमिट्यान्स र आयात वृद्धि नहुँदा चालु खाता र शोधनान्तर बचतमा उल्लेखनीय सुधार आएको छ । त्यस्तै, मुलुकको विदेशी मुद्रा सञ्चितिले एक वर्ष भन्दा बढीको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु खाता १ खर्ब ६६ अर्ब ८७ करोड रुपैयाँले बचतमा देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५५ अर्ब २८ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४२ करोड ९३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २५ करोडले बचतमा पुगेको छ ।
गत फागुन मसान्तसम्म समीक्षा अवधिमा शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ४२ अर्ब रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ४६ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३०.२० प्रतिशतले कमी आई ३ अर्ब ८९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ६३ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ५८ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब १७ करोडले धनात्मक रहेको थियो ।
२०८० फागुन मसान्तमा कुल विदेशी विनिमय सञ्चिति १८खर्ब ७२ अर्ब ८२ करोड पुगेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले वृद्धि भएको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० फागुन मसान्तमा २०.८ प्रतिशतले वृद्धि भई १४ अर्ब १४ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० फागुन मसान्तमा २२.२प्रतिशतले वृद्धि भई १६ खर्ब ४४ अर्ब ६ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० फागुन मसान्तमा १८.२ प्रतिशतले वृद्घि भई २ खर्ब २८ अर्ब ७६ करोड कायम भएको छ । २०८० फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.८ महिनाको वस्तु आयात तथा १२.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४.८ प्रतिशत, १०३.१ प्रतिशत र २८.२ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।
आठ महिनामा कुल बजेट खर्च २.९ प्रतिशतले वृद्घि भई ८ खर्ब ०१ अर्ब ५८ करोड रुपैयाँ बराबरको भएको छ। राजश्व परिचालन ९.७ प्रतिशतले बढेर ६ खर्ब ३९ अर्ब ५ करोड भएको छ । यस अवधिमा विस्तृत मुद्राप्रदाय ७.७ प्रतिशत र वार्षिक बिन्दुगत आधारमा १४ प्रतिशतले बढेको छ ।
त्यस्तै, यो अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ७.६० प्रतिशत अर्थात ४ खर्ब ३५ अर्ब ८७ करोडले बढेर छ । निजी क्षेत्रमा प्रवाहित कर्जा ४ं२ प्रतिशत अर्थात १ खर्ब ९९ अर्ब ५० करोड रुपैयाँले बढेको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.६० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५.२० प्रतिशत छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया