खर्च प्रणालीलाई व्यवस्थित गर्न ‘अटोमेटेड रिर्पोटिङ प्रणाली’ : अर्थमन्त्री

0
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको खर्च प्रणालीलाई व्यवस्थित र नियन्त्रण गर्न ‘अटोमेटेड रिर्पोटिङ प्रणाली’ को विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

सोमबार महालेखा कार्यालयले आयोजना गरेको सार्वजनिक वित्तीय व्यवस्थापन राष्ट्रिय गोष्ठिलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले सार्वजनिक वित्तीय व्यवस्थापनको क्षेत्रमा प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिए ।

मन्त्री खतिवडाले भने, ‘अटोमेटेड रिर्पोटिङ प्रणालीले खर्च प्रणालीलाई व्यवस्थित र नियन्त्रण गर्न सहयोग पुर्याउने हुँदा प्रविधिको क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यक छ, हामीले सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छ, हाम्रो ब्याकअप प्रणालीलाई कसैले ह्याक गर्न नसक्ने प्रविधिको क्षमता विकास गनुपर्नेछ।’

मन्त्री खतिवडाले  अब लेजर लेखा भनेर खातापाता पल्टाउने नभई प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताए । जसका लागि कर्मचारी क्षमता अभिवृद्धिमा जोड दिन पनि आग्रह गरे । मन्त्री खतिवडाले आन्तरिक नियन्त्रण र सन्तुलनको प्रणालीको विकास भईसकेकाले त्यसलाई कार्यन्वयनमा लग्न पनि महालेखा कार्यालयलाई निर्देशन दिए ।

उनले भएका बनेका कानुनको स्प्रिड अनुसार काम गर्नुपर्ने आवश्यकता औल्याउँदै सदाचारिताका साथै नीतिगत अनुशासनमा बस्नुपर्नेमा जोड दिए । प्रतिफलमुखी वित्त व्यवस्थापन आजको आवश्यक रहेको भन्दै उनले बजेट व्यवस्थापनमा प्रविधिको प्रयोग बढाउनुपर्ने बताए ।