आठ महीनामा ११ खर्ब ५९ अर्ब तरलता प्रशोचन

0
Shares

बैंकिङ्ग प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम थुप्रनु) भएपछि नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको आठ महीनाको अवधिमा मौद्रिक उपकरणहरुको प्रयोग गरेर ११ खर्ब ५९ अर्ब ८५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको छ। यस अवधिमा केन्द्रीय बैंकले कुल ५ खर्ब ६२ अर्ब ६१ करोड रुपैयाँ तरलता उपयोग गरेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७९–८० को आठ महीना अवधिमा खुला बजार र स्थायी तरलता सुविधा लगायतका विभिन्न उपकरणहरु मार्फत राष्ट्र बैंकले खुद ३६ खर्ब ९२ अर्ब २८ करोड तरलता प्रवाह गरेको थियो । यो वर्ष कर्जाको माग सुस्त बन्दा बैंकहरुले रहेको निक्षेप राष्ट्र बैंकमा रकम राखेर ब्याज खाने अवस्था आएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि फागुन मसान्तसम्ममा निक्षेप संकलन बोलकबोलमार्फत ५ खर्ब ९३ अर्ब ५ करोड रुपैयाँ र स्थायी निक्षेप सुविधामार्फत ५ खर्ब ६६ अर्ब ८० करोड गरी कुल ११ खर्ब ५९ अर्ब ८५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको हो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट स्थायी तरलता सुविधामार्फत १ अर्ब २० करोड र ओभरनाइट तरलता सुविधा मार्फत ५ खर्ब ६१ अर्ब ४१ करोड गरी कुल ५ खर्ब ६२ अर्ब ६१ करोड (कारोबारमा आधारित) तरलता उपयोग गरेका छन् ।

समीक्षा अवधिमा विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ३ अर्ब ७४ करोड खुद खरिद गरी ४ खर्ब ९६ अर्ब ६६ करोड तरलता प्रवाह गरेको केन्द्रीय बैंकले जनाएकाे छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ३ अर्ब ७० करोड खुद खरिद गरी ४ खर्ब ८२ अर्ब ५३ करोड तरलता प्रवाह गरिएको थियो ।

यस अवधिमा अमेरिकी डलर २ अर्ब ४६ करोड बिक्री गरी ३ खर्ब २७ अर्ब ४ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब ८ करोड बिक्री गरी ४ खर्ब १ अर्ब ६२ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो । आयात कम हुँदा भारतीय रुपैयाँको खरिद यो वर्ष घटेको हो ।

आर्थिक वर्ष २०८०/८१ को आठ महिना (साउनदेखि फागुन मसान्तसम्म) मा कुल वस्तु आयात २.७ प्रतिशतले कमी आई १० खर्ब ३० अर्ब २२ करोड कायम भएको छ । कुल वस्तु व्यापार घाटा २.५ प्रतिशतले कमी आई ९ खर्ब २९ अर्ब ६१ करोड छ । आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा कुल वस्तु निर्यात ४.० प्रतिशतले कमी आई १ खर्ब ६२ करोड कायम भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।