लघुवित्तको शेयरमा खरीद चाप कायमै

0
Shares

शेयर बजार परिसूचक नेप्से उकालो लाग्न थालेपछि शेयर बजारका लगानीकर्ताहरु उच्च मूल्यमा पनि लघुवित्तको शेयर किन्न इच्छुक देखिएका छन् । यसअघिका तीन कारोबार दिनमा नेप्से ४३ अंकले घटेपछि घटेको मौका पारि सोमबार पुन: लघुवित्तको शेयरमा खरीद चाप देखिएको हो।

सोमबार १८० कम्पनीको ७१ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा शिर्ष कमाउने कम्पनीको सूचीमा लघुवित्त कम्पनीहरु अग्र स्थानमा रहे। यसदिन शिर्ष शेयरमूल्य बढ्ने दश कम्पनीको सूचीमा ७ लघुवित्त कम्पनीहरु रहेका छन्। यस्तै सोमबार १५० कम्पनीको शेयरमूल्य बढेकोमा ३७ लघुवित्त कम्पनीको शेयरमूल्य बढेको छ।

सोमबारको बजारमा व्यापार, र होटलसँगै लघुवित्तको उप समूहको सूचक पनि उच्च अंकले उकालो लागेको छ। व्यापार र होटल ४ प्रतिशत माथि बढ्दा लघुवित्तको सूचक पनि ३.३४ प्रतिशतले बढेको हो।

यस बीचमा माघ ५ गते नेप्से २४ अंकले बढेकोमा ६७ अंकले करेक्शन आई १ हजार २७६ बिन्दुमा झरेकोमा पुन: १ हजार ३०० बिन्दुमा पुगेको हो। एक महिनाको अवधिमा लघुवित्तको सूचक १ हजार ६१५ को बिन्दुबाट ४३९ अंक बढेर २ हजार ५५ बिन्दुमा पुगिसकेको छ। 

यहि एक महिनाको अवधिमा अन्य सूचाङ्कमा हेर्ने हो भने बैंकिङ्ग इन्डेक्स ९६ अंक, विकास बैंक १८२ अंक, ब्यापार २०३ अंक, वित्त ८१ अंक, उत्पादन १३६ अंक, होटल २३९ अंक, जलविद्यु्त ७० अंक, जीबन बीमा १ हजार ६०२ अंक, निर्जीबन बीमा ९०८ अंक, म्युचुअल फण्ड ०.९ अंक र अन्य १५ अंकले बढेको नेप्सेको तथ्याङ्क छ ।

धितोपत्र बजारमा थोरै चुक्ता पूँजी लघुवित्त कम्पनीहरुको अत्याधिक शेयरमूल्य बढ्नुलाई भने लगानीकर्ताहरुले कर्नरिङ्गको आँखाबाट समेत हेर्ने गरेका छन्। किनभने ठूलो पूँजी भएको लघुवित्तको तुलनामा यस अवधिमा सानो पूँजी हुने लघुवित्त कम्पनीको शेयरमूल्य उच्च रुपमा बढेको पाइएको छ।

कतिपय समूहहरु बजार बढेको मौका छोपी सामाजिक सञ्जालमा ग्रुप नै बनाएर लघुवित्त कम्पनीको शेयर अब माइक्रो हुँइकिन्छ भन्दै प्रचारमा उत्रिनुले पनि त्यसलाई पुष्टि गर्दछ। यसतर्फ भने लगानीकर्ता सजग भई हल्लाको पछि भन्दा कम्पनीको अवस्था र सो बाट हुनसक्ने जोखिमको मूल्याङ्कन गरेर मात्र लगानी निर्णय लिन जरुरी देखिन्छ।