बीमा दाबी भुक्तानी प्रक्रिया झन्झटिलो भएको गुनासो ,सरल बनाउन निर्देशन

0
Shares

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बीमा कम्पनीहरूले दाबी भुक्तानीको प्रक्रिया सरल बनाउनुपर्ने बताएका छन् ।

सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको सुर्खेत शाखा कार्यालयको मंगलबार वीरेन्द्रनगरमा उदघाटन गर्दै उनले प्रक्रिया झन्झटिलो भएको गुनासो आउने गरेको बताए ।

बीमा क्षेत्रका समस्या सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको भन्दै उनले नीतिगत, कानूनी र व्यावहारिक समस्या सुल्झाउन सहयोग गरिने बताए ।

मन्त्री ज्वालाले कर्णालीवासीलाई बीमाको पहुँचमा ल्याउन राष्ट्रिय बीमा संस्थानलाई आग्रह गर्दै यस क्षेत्रका जटिलतालाई सरलीकृत गर्न आवश्यक रहेको भनाइ राखे ।

‘समस्या पर्दा लाभ लिन सकिन्छ भनेर बीमा गर्ने हो, तर भुक्तानी प्रक्रिया झन्झटिलो हुने गुनासो सुनिन्छ,’ उनले भने, ‘बीमा संस्थानले बीमा क्षेत्रका समग्र जटिलतालाई सम्बोधन हुने गरी सरकारसमक्ष प्रस्ताव गरोस्, प्रदेश सरकार जटिलता सुल्झाउन तयार छ ।’

संस्थानका अध्यक्ष गंगाराम कँडेलले शाखा विस्तारलाई तीव्रता दिँदै हरेक नागरिकको पहुँचमा बीमा क्षेत्रलाई पुर्यााउने बताए ।