बजार फेरि माथि जाने आशा जाग्दा एक अर्ब ४० करोडको कारोबार

0
Shares

शेयर बजारमा मंगलबार पुन एक अर्ब ४० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आइतबार र सोमबार एक अर्बभन्दा कमको कारोबार भएकोमा मंगलबार पुन कारोबार रकम बढेको हो।

नेप्से उच्च अंकले बढेपछि अल्पकालीन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्नतर्फ लाग्दा केहीदिन बजार ऋणात्मक भएको थियो। गत साताको सोमबारपछि पुन शेयर बजार परिसूचक बुधबार र बिहीबार पनि घटेको थियो। यस साताको पहिलो दिन आइतबार पनि बजारले २० अंकको गिरावटकै बाटो समातेपछि नाफा सुरक्षित गरेका लगानीकर्ता पुन बजार फर्किका हुन्।

अर्कोतर्फ राष्ट्र बैंकको नीतिका कारण बैंकिङ्ग प्रणालीमा तरलता सहजता र अब बजार बुलिस ट्रेण्डमा नै जानस्क्ने आंकलनका कारण पनि बजारमा उत्साहको कमी देखिएको छैन।

नेप्से सूचक मंगलबार ५.५२ अंकले बढेर १ हजार ३०६ दशमलव १५ बिन्दुमा पुगेको छ। कूल कारोबारमा आएका १७८ कम्पनीमध्ये ९३ कम्पनीको शेयरमूल्य बढ्दा ६८ कम्पनीको घटेको छ । यसदिन ३७ लाख ३९ हजार ३९७ कित्ता शेयर १ अर्ब ४० करोड रुपैयाँको कारोबार भयो।

कारोबारमा आएका उपसमूहको सूचक मिश्रित देखिएका छन्। १२ मध्ये ४ वटासूचक घटेका छन् भने बाँकी आठवटै उप समूहका सूचक बढे। लघुवित्त कम्पनीहरु र जीवन तथा निर्जीवन बीमा उपसमूहको सूचकमा २ प्रतिशत बढीको सुधार आएको छ।

मंगलबारको कारोबारमा ग्लोबल आइएमई बैंकको सबैभन्दा धेरै ९ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ। नेपाल लाइफ ६ करोड ९९ लाख र नेको इन्स्योरेन्स, नेपाल बैंक, नागरिक लगानी कोष, गुराँस लाईफ, एशियन लाईफ र प्राइम लाईफको ४ करोड बढीको शेयर खरीद बिक्री भयो।

शिखर इन्स्योरेन्सका शेयरधनीले मंगलबारको बजारबाट ८ प्रतिशतका दरले कमाउँदा नाडेप लघुवित्त र नागरिक लगानी कोषको शेयरमूल्य पनि ६ प्रतिशतले वृद्धि भएको छ ।

उता गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्सका लगानीकर्ता सबैभन्दा धेरै ४.३४ प्रतिशतले गुमाउँदा रसुवागढी हाइड्रो ४ प्रतिशत तथा इन्फिनिटी लघुवित्त, साल्ट ट्रेडिङ्ग, साञ्जेन जलविद्युत्त कम्पनी र सिन्धु विकास बैंकको शेयरमूल्य ३ प्रतिशत बढीले घटेको छ।