राष्ट्रिय वाणिज्य बैंकले खानेपानीका लागि १.६ प्रतिशतमा कर्जा दिने


राष्ट्रिय वाणिज्य बैंकले खानेपानी परियोजनामा सहुलियत कर्जा लगानी गर्ने भएको छ । बैंकले खानेपछि परियोजनाका लागि १.६ प्रतिशत व्याजदरमा ८० प्रतिशतसम्म कर्जा प्रदान गर्ने भएको हो ।

बैंक, दक्षिण एशियाली महिला विकास मंच र टाटा परियोजनाबीच महिला उद्यमशिलताको लागि सुलभ मूल्यमा स्वच्छ एवं शुद्ध खानेपानी परियोजना संचालन गर्न सम्झौता गरेपछि सहुलियत कर्जा दिने भएको हो । खानेपानी मन्त्री बिना मगरको उपस्थितीमा भएको सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, दक्षिण एशियाली महिला विकास मंचका अध्यक्ष प्रमिला आचार्य रिजाल र टाटा परियोजनाका एच.इ.कुट्टीले हस्ताक्षर गरेका छन् । सम्झौता पछि टाटा परियोजनाले उपलब्ध गराएको १५ लाख सम्म पर्ने खानेपानी प्रशोधन गर्ने मेसिनमा राष्ट्रिय वाणिज्य बैंकले सहुलियत दरको कर्जा प्रदान गर्ने जनाएको हो ।

हाल पाइलट परियोजनाको रुपमा काभ्रे जिल्लाको नाला र पनौती क्षेत्रमा परियोजना लागु गरिने बैंकले जनाएको छ । सुलभ मूल्यमा स्वच्छ एवं शुद्ध खानेपानी परियोजनामा फेडेरेसन अफ वुमेन इन्टरप्रेनर्स एशोशिएसन अफ नेपाल, मनुसी लघुबित्त संस्था, फेडेरेसन अफ बिजनेस एण्ड प्रोफेसनल वुमेन नेपाल, फेडेरेसन अफ नेपाल कटेज एण्ड स्मल इन्डस्ट्रीजस् सहयोगी पार्टनर संस्थाको रुपमा रहेका छन् ।

कार्याक्रममा खानेपानी मन्त्री बिना मगरले नेपाली महिलाले खानेपानी ब्यवस्थाको लागि जिवनमा धेरै समय ब्यतित गरिरहेको सन्दर्भमा यस्तो सम्झौताले महिलाहरुमा सजिलै खानेपानीको ब्यवथा गर्न सघाउ पुग्ने बताईन् । यस्ता कार्याक्रमले महिला उद्यमशिलताको विकास भई महिला सशक्तिकरणमा समेत सघाउ पुग्ने उनको भनाई छ ।
बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पुग्ने गरी महिला उद्यमशिलताको क्षेत्रमा कार्य गर्न पाउदा खुशी लागेको बताउनुभयो । श्रेष्ठले बैंकको ७ प्रदेश ७७ वटै जिल्लामा रहेको २१८ वटै शाखा कार्यालयहरुबाट यो कर्जा लिन सकिने बताए ।