मालपोतका कार्यालय सहयोगीले नै ९ करोड भ्रष्टाचार गरेपछि…

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चावहिलका कार्यालय सहयोगी राजेन्द्र बस्नेतले पदीय दुरुपयोग गरी गैरकानूनी रुपमा झण्डै ९ करोड भ्रष्टाचार गरेको अभियोगमा आरोपत्र दायर गरेको छ ।

बस्नेतले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनयापन गरिरहेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान थालेको थियो ।

बस्नेतले मालपोत कार्यालय चावहिलमा कार्यरत रहँदा नक्कली रसिद काटी नगद असुल गरी राजस्व दाखिला नगरी भ्रष्टाचार गरेको आयोगको भनाई छ। ०४५ सालमा सरकारी सेवामा प्रवेश गरेका बस्नेतले ३० बर्षको अवधिमा ९ करोड बराबरको भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानले देखाएको छ ।

अनुसन्धानको क्रममा बस्नेतबाट स्रोत नखुलेको ११ लाख रुपैयाँ नगद समेत अख्तियारले बरामद गरेको थियो । बस्नेतले आफू तथा श्रीमती सीता बस्नेतको नाममा रहेको नौ करोड त्रिहत्तर लाख एकतीस हजार नौ सय छयासी रुपैयाँ बराबरको सम्पत्ति रहेकोमा  आठ करोड अन्ठानब्बे लाख अन्ठाउन्न हजार छ सय तेह्र रुपैयाँको स्रोत नखुलेको अख्तियारले जनाएको छ ।

आयोगले बस्नेतलाई बिगो आठ करोड अन्ठानब्बे लाख अन्ठाउन्न हजार छ सय तेह्र रुपैयाँ कायम गरी बिगो बमोजिम जरिवाना र कैद सजायको माग गरी विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

 

प्रकाशित मिति: १६ माघ २०७६, बिहीबार  १६ : ४१ बजे