विदेशको कमाइले स्वदेशमा उद्यमी


लामो समय वैदेशिक रोजगारीको कमाइले मोरङका युवा स्वदेशमा उद्यमी बनेका छन् । करिब सात वर्षअघि मोरङको बेलबारी–९ डाँगीहाटमा एक करोड रुपैयाँ लगानीबाट सुरु भएको कृषि फार्मले हाल वार्षिक सबै खर्च कटाएर ५० लाख रुपैयाँ आम्दानी गरिरहेको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका युवा व्यवसायी होमनाथ बास्कोटा, राजु डाँगी, जितेन्द्र दाहाल र स्वदेशमै रोजगारी गरिरहनुभएका नगेन्द्र अधिकारी, विष्णु बस्नेत र गोविन्द अधिकारीले २०७४ सालमा लेयर्स जातको कुखुरा पालनबाट सुरु भएको फार्ममा हाल उन्नत जातका बाख्रा र मेवा खेती पनि रहेका छन् ।

करिब डेढ दशकसम्म विदेशमा बिताएर फर्किएपछि उनीहरुले मिलेर अण्डा दिने कुखुरापालन गर्न थालेका हुन् । डेढ बिघा जमिन क्षेत्रफलमा रहेको उक्त फार्ममा रहेका १७ हजार लेयर्स कुखुरा फार्मबाट दैनिक १३ हजार अण्डा उत्पादन भइरहेको सञ्चालक होमनाथ बताउँछन् । “अहिले अण्डाको आम्दानीले विदेशलाई नै भुलाएको छ”, बास्कोटाले भने, “प्रतिगोटा १२ रुपैयाँका दरले बेचिरहेको अण्डाबाट दैनिक एक लाख ५६ हजार रुपैयाँको बिक्री हुने गरेको छ ।”

उनका अनुसार उत्पादित अण्डा ७० प्रतिशत स्थानीय बजारमा खपत हुन्छ भने ३० प्रतिशत बाहिरको बजारमा खपत हुँदै आएको छ । स्थानीय धरान, विराटनगर, इटहरी, दमकलगायत पूर्वका सहरमा अण्डा जाने गरेको उनले बताए । आफूले यो बीचमा कुखुरासम्बन्धी प्राविधिक ज्ञानसमेत लिएको बताउँदै उनले भने, “कुखुरा बाख्रालगायतमा कुनै रोग लागे पशु डाक्टरको ठूलो अभाव रहेको छ ।”

मिर्मिरे एग्रो प्रालि नाम रहेको उक्त कृषि फार्ममा कुखुराका साथै बाख्रापालन पनि रहेको छ । खरी, बोयर, पिटर र जामुनापारी जातका ८० को सङ्ख्यामा बाख्रा रहेका छन् । बाख्राको माग उच्च रहेको जनाउँदै सञ्चालक होमनाथले व्यावसायिक बाख्रापालनमा राम्रो आम्दानी रहेको दाबी गरे । उक्त फार्ममा कुखुरा र बाख्रासँगै मेवाखेती पनि रहेको छ । चार कट्ठा जमिनमा तीन सय ५० बोट मेवा रहेका छन् । एउटा बोटमा एक याममा ६० किलोदेखि सय किलोसम्म फल्ने गरेको फार्म सञ्चालक होमनाथ बताउँछन् । होलसेल मूल्यमै हाल ९० रुपैयाँ प्रतिकिलोका दरले विराटनगरमा बिक्री भइरहेको उनी बताउँछन् ।

खुला सिमानाका कारणले उत्पादित अण्डाको मूल्यमा एकरुपता आउन नसकेको जनाउँदै कुखुराले खाने चारोको मूल्य वृद्धिको अनुपातमा अण्डाको मूल्य बढ्न नसकेको फार्म सञ्चालक होमनाथ बताउँछन् । स्थानीय पालिकाले कृषि तथा पशुको पकेट क्षेत्र तोक्न आवश्यक रहेको फार्म सञ्चालक उनी बताउँछन् । पकेट क्षेत्र तोक्दा कृषि पशुपालन क्षेत्र व्यवस्थित हुनुका साथै कृषक लाभान्वित हुने उनले बताए । रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।