मीनबहादुर गुरुङको सहयोगले डा. भगवान कोइराला भावुक, बाल अस्पतालका लागि ४१ करोड दिने


भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणा गरेका छन् ।

कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्न लागेको छ । निर्माणाधीन अस्पताल क्षेत्र मै पुगेर गुरुङले कोइरालाको अभियानमा साथ दिने प्रतिवद्धता जनाउँदै ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका हुन् । शुक्रबार अपराह्नगुरुङ काठमाडौंको हेपाली हाइट स्थित अस्पताल निर्माणाधीन क्षेत्रमा पुगेका थिए ।

डा. कोइरालाको भनाई सुनिसकेपछि गुरुङले सोधे– तपाईंलाई अस्पताल बनाउन अब कति सहयोग आवश्यक पर्छ ? हामीबाट कस्तो भवन अपेक्षा गर्नुभएको छ ? डा. कोइरालाले अहिलेसम्म उठेको रकम, प्रतिवद्धता आएको र नजुटेको सम्बन्धमा जानकारी गराएपछि गुरुङले भने– मैले तपाईंको यो प्रोजेक्टका लागि ४१ करोड रुपैयाँ सहयोग गर्छु ।”

गुरुङ त्यतिमा रोकिएनन् उनले यसअघि त्रिवि शिक्षण अस्पतालमा गरेको सहयोगको स्मरण गर्दै भने, “घरमा पनि सबैलाई यो कुरा नभनी यहाँ आएको थिएँ । पार्टनरलाई २५ करोडसम्म सहयोग गर्न सक्छु भनेको थिएँ तर यहाँ आइसकेपछि मैले ४१ करोड सहयोग गर्ने घोषणा गरेँ ।”गुरुङले यस्तो घोषणा गरेपछि डा. भगवानकोइराला केही बेर भावुक बने ।

“हामीले पैसा नै नभएको बेला बनाउन थालेका हौँ । मैले यो खुसीको क्षणलाई बयान गर्नै सकेको छैन । अहिले मैले यतिमात्रै भन्छु– इट इज ह्युज अमाउन्ट । दिस इज गेम चेन्जर,” कोइरालाले भने । उनले अहिले घोषणा भएको यो सहयोगले देशका लागि केही गर्न खोज्ने व्यक्तिको कमी नभएको उल्लेख गरे ।

कोइरालाले काठमाडौं सहित सातवटै प्रदेशमा बाल अस्पताल बनाउने अभियान अघि सारेका छन् । कोसी प्रदेशको झापामा एक वर्षअघि नै बाल अस्पताल सम्पन्न भइसकेको छ ।अब काठमाडौं सहित बाँकी प्रदेशमा बाल अस्पताल निर्माण हुनेछ । “अहिले पनि दमक स्थित बाल अस्पतालमा दैनिक तीन सय बालबालिकाको उपचार भइरहेको छ,” उनले भने, “यो अस्पतालले पूर्व क्षेत्रमा धेरै सहयोग गरेको हामीले पाएका छौँ ।”

सहयोग रकम घोषणापछि भाटभटेनीका अध्यक्ष गुरुङले पनि राम्रो कामका लागि सहयोग गर्न पाउँदा आफूलाई भित्रैबाट खुसी लागेको बताए । “राम्रो कामगर्न पाउँदा मलाई खुसी लागेको छ,” उनले भने, “घरबाट आउँदा २५ करोड सहयोग गर्ने तयारी थियो । जसले राम्रो काम गर्छ उसलाई सहयोग गर्नुपर्छ भन्ने मलाई यहाँ लाग्यो पनि । त्यसैले मैले ४१ करोड सहयोग रकमको घोषणा गरेँ ।”

गुरुङले अहिलेको समयमा धेरैलाई समस्या रहे पनि कसैले राम्रो काम गर्छ भने उसलाई सहयोग गर्न सबै तयार हुनुपर्ने र त्यो देशकै लागिसहयोग हुने बताए । “यो निस्वार्थ भावले गरेको काम हो । त्यसैले स्वार्थ रहित काममा सहयोग गर्न पाउनु मेरो खुसीको कुरा हो,” उनले भने ।

भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङले यसअघि त्रिवि शिक्षण अस्पतालमा दुईवटा भवन निर्माण गरिदिएका छन् । २०६८ सालमा बुबा वृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको नाममा इमर्जेन्सी भवन बनाइ दिएका छन् । उक्तभवन ११ करोड रुपैयाँमा निर्माण गरिएको थियो भने भूकम्पपछि सोही स्थानमा उनले अर्को भवन पनि निर्माण गरिदिए ।

पछिल्लो ईएचएस भवन १५ करोड लागतमा निर्माण गरिदिएका हुन् । गुरुङले अहिलेसम्म १४ जनालाई एमबीबीएस अध्ययन गराएका छन् । रोल्पा, खोटाङ, मुगु, डोल्पा, बैतडी, दार्चुला, संखुवासभा, ताप्लेजुङ, पाँचथर र कालीकोटका गरी १४ जनालाई एमबीबीएस तहको अध्ययन गराएका हुन् । उनीहरुको सम्पूर्ण खर्च भाटभटेनीले नै बेहोर्दै आएको छ ।

भाटभटेनीले अहिले पनि ४१ करोड बराबरको भवननिर्माण गरिदिने घोषणा गर्दै गुरुङले उक्त भवन अहिले सम्मकै अत्याधुनिक हुने बताए । करिब एक लाख स्क्वायर फिटको अत्याधुनिक भवन निर्माण गरेर बाल अस्पताललाई हस्तान्तरण गर्ने योजना छ । बनाइ दिने यो भवनमा बेसमेन्ट पार्किङ, इमर्जेन्सी, त्यहाँ २० शैया रहनेछ भने सोही भवनमा आईसीयू, एनआईसीयू लगायत कक्ष रहनेछन् भने माथि हेलिप्याड पनि रहनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।