सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च


सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव पाँच प्रतिशत बजेटमात्र खर्च गरेको छ । चालु आव २०८०÷८१ को साउनदेखि वैशाख मसान्तसम्मको १० महिनाको अवधिमा प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव पाँच प्रतिशत अर्थात् १० अर्ब ६४ करोड ६३ लाख रुपैयाँ खर्च गरेको हो ।

सो अवधिमा प्रदेश सरकारले चालुतर्फ पाँच अर्ब तीन करोड ४४ लाख रुपैयाँ र पूँजीगततर्फ पाँच अर्ब ६१ करोड १८ लाख रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय कैलालीका सूचना अधिकारी यज्ञराज पाण्डेयले जानकारी दिए ।

उनका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा बढी चार अर्ब ९२ करोड ३१ लाख रुपैयाँ बजेट खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयले दुई अर्ब ४७ करोड नौ लाख रुपैयाँ, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ७८ करोड ७१ लाख रुपैयाँ र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ७१ करोड १८ लाख रुपैयाँ खर्च गरेको उनले जानकारी दिए ।

सूचना अधिकारी पाण्डेयका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १४ करोड ६२ लाख रुपैयाँ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १४ करोड नौ लाख रुपैयाँ र आर्थिक मामिला मन्त्रालयले छ करोड ६६ लाख रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै, प्रदेश व्यवस्थापिकाले १० करोड १६ लाख रुपैयाँ , प्रदेश लोक सेवा आयोगले चार करोड चार लाख रुपैयाँ र प्रदेश नीति तथा योजना आयोगले एक करोड ७३ लाख रुपैयाँ गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयलका अनुसार प्रदेश सरकारले चालु आवका लागि कूल २९ अर्ब २८ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसमध्ये चालुतर्फ ११ अर्ब ९६ करोड १६ लाख रुपैयाँ , पूँजीगततर्फ १७ अर्ब दुई करोड २३ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।