श्रममन्त्री अर्याल र साइप्रसका हाइ कमिश्नरबीच भेटवार्ता, नेपाली श्रमिकको सीप विकासमा सहकार्य गर्न आग्रह


श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र साइप्रसका हाइ कमिश्नर एवागोरस व्रियोनाइड्सबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटमा साइप्रस र नेपालबीच श्रमलगायत आपसी हितका विषयमा छलफल भएको थियो । छलफलमा श्रममन्त्री अर्यालले साइप्रस जाने नेपाली श्रमिकको सीप विकासको कार्यमा सहकार्य गर्न आग्रह गरेको श्रममन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

साइप्रस सरकारले माग गरेअनुसार श्रमिक पठाउन तालिम सञ्चालन गर्नुपर्ने भएकाले सहयोग गर्न समेत मन्त्री अर्यालले आग्रह गरे । साइप्रसमा हाल २० हजार नेपाली श्रमिक छन् । सेवा क्षेत्र र घरेलु श्रमिकको रुपमा नेपाली श्रमिक साइप्रस पुगेका छन् ।

साइप्रस जाने सबै खालका श्रमिकलाई सीप सिकाउन नेपाल सरकार आतुर रहेको श्रममन्त्री अर्यालले बताए । भेटमा साइप्रसका हाइ कमिश्नर व्रियोनाइड्सले दक्ष नेपाली श्रमिक साइप्रस पठाउन सके राम्रो हुने बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।