चीनमा पर्यटन प्रवर्द्धन गर्दै नाट्टा गण्डकी


नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदशेको आयोजनामा बिहीबारदेखि आगामी जेठको १० गतेसम्म चीनका विभिन्न सहरमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम हुने भएको छ ।

कार्यक्रमबारे जानकारी दिन बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले चीनमा ‘पोखरा नेपाल टुरिज्जम प्रमोशन एण्ड सेल्स मिसन इन चाइना’ कार्यक्रम गर्न लागिएको जानकारी दिए ।कार्यक्रम अन्र्तगत पोखराबाट आज निस्केको १६ सदस्यीय टोलीले चीनको ग्वान्तङ प्रान्तको ग्वाङझाउ सहरमा जेठको ३ गतेदेखि ५ गतेसम्म हुन गइरहेको ग्वाङझाउ इन्टरनेशनल ट्राभल फेयर २०२४ मा सहभागी बन्ने छ ।

त्यस्तै टोलीले चीनको राजधानी सहर बेइजिङमा नेपाल पर्यटन बोर्डको आयोजना र नेपाली राजदूतावासको समन्वयमा नेपाल सेल्स मिसन एण्ड विटुवी कार्यक्रम गरी पोखरा र नेपालको पर्यटनको गतिविधि समेटिएको वृत्तचित्र प्रस्तुत गर्नेछ । उक्त क्रममा नेपालको विभिन्न पर्यटन प्रवद्र्धनात्मक साम्रगी प्रदर्शन एवम् वितरण गरिने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख नवीन पोखरेलले जानकारी दिए ।

टोलीले चीन सरकारको ऋण सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नका लागि व्यवसायी र सम्बन्धित निकायसँग छलफल गर्ने साथै चीनका मुख्य सहरको भ्रमण गरी त्यहाँंको आर्थिक र पर्यटन विकासको अवलोकन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

चीन नेपालका लागि प्रमुख पर्यटन बजारका रुपमा रहेको छ । अघिल्लो वर्ष सन् २०२३ को अप्रिलमा नेपाल भित्रने चिनियाँ पर्यटकको सङ्ख्या चार हजार सात सय ७० जना रहेकोमा यसवर्ष सोही अवधिमा नौ हजार सात सय ५० पर्यटन नेपाल भित्रिएका छन् । 

पत्रकार सम्मेलनमा नाट्टा गण्डकी प्रदेशका महासचिव सङ्गीता पौडेल, पर्यटन विज्ञ वासुु त्रिपाठी, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, कार्यक्रम संयोजक खिमबहादुर नेपाली लगायतले प्रवद्र्धनात्मक कार्यक्रमले पोखरा र नेपालमा चीनबाट पर्यटकको आगमन बढ्नुका साथै पर्यटन व्यवसायीबीच पर्यटकीय साझेदारी बन्ने विश्वास व्यक्त गरे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।