बैंक वित्तीय संस्थाले सेयर बेच्न पाउने सीमा १९ प्रतिशत विन्दुले बढ्यो, धितोपत्र बजारमा आपुर्ति बढ्ने


नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रीक नीतिको तेस्रो त्रैमासीक समीक्षा मार्फत बैंक वित्तीय संस्थाको सेयरमा भएको लगानी बिक्री गर्न सहजीकरण गरेको छ । बैंक तथा वित्तीय संस्थाको प्राथमिक पुँजीको एक प्रतिशत बरावरको सेयर लगानी बिक्री गर्न पाउने व्यवस्थालाई केन्द्रीय बैंकले बढाएर २० प्रतिशत पुर्याएको हो ।

बैंक तथा वित्तीय संस्थाले सेयरमा गरेको लगानी बिक्रीको सीमा बढाउँदा धितोपत्र बजारमा आपुर्ति बढ्ने देखिन्छ । बैंक तथा वित्तीय संस्थाले आर्थिक गतिविधिमा आएको सुस्तताका कारण कर्जा लगानी विस्तार अपेक्षीत रुपमा हुन नसकेको र कर्जा डिफल्ट दरमा आएको वृद्धिले नाफा प्रभावित भएको छ । बैंक तथा वित्तीय संस्थाको धितोपत्र बिक्री गर्न पाउने सीमा बढ्दा चालु आर्थिक वर्षको चौथो त्रैमासमा सेयर लगानी बिक्री गर्ने बाटो खुलेसँगै नाफमा सुधार आउने देखिन्छ ।

धितोपत्र बजारमा आएको उच्च सुधार पछि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयरमा लगानी गर्न कडाई गर्यो । २ वर्ष अघिसम्म बैंकहरुले सेयर किनबेच गरेर आम्दानीको आकार ठूलो बनाउँदै आएकोमा केन्द्रीय बैंकको कडाईले सो क्षेत्रबाट भएको आम्दानी रोकिएको थियो । त्यसपछि केन्द्रीय बैंकले सेयर लगानीलाई बिक्री नै गर्न नपाइने ब्यवस्थाबाट खरिद गरेको १ वर्षपछि प्राथमिक पुँजीको १ प्रतिशत मात्र सेयर बिक्री गर्न पाउने व्यवस्था गर्यो । बैंकहरुको सेयरको लगानीलाई विस्तारै खुकुलो गराउँदै आएको केन्द्रीय बैंकले चालु आवको मौद्रिक नीतिको तेस्रो समीक्षा मार्फत झनै लचक हुदै प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न सक्ने ब्यवस्था गरेको हो ।

 

यो अवधिमा केन्द्रीय बैंकले १ वर्ष पुरानो सेयर बिक्री गर्ने व्यवस्थामा प्राथमिक पुँजीको १९ प्रतिशत विन्दुले सीमा बढाएको हो । यो व्यवस्थाले बैंक तथा वित्तीय संस्थालाई आफूले लगानी गरेको सेयर बिक्री गर्न केही सहज हुने भएको छ । २०७८ जेठमा राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरुलाई सेयर बिक्री गर्ने व्यवस्थामा कडाई गर्न थालेको थियो । उक्त समय अघि बैंकहरुले कुनै पनि समयमा आफुले लगानी गरेको सबै वा आंशिक सेयर बिक्री गर्न सक्ने व्यवस्था थियो । जसका कारण बैंकहरुले सेयरमा आज लगानी गरेर साता भरमा नै सेयर बिक्री गर्दै आकर्षक आम्दानी देखाउने गरेका थिए ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा भनिएको छ, “बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भइसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइने छ ।” यो व्यवस्थाले अब बैंक तथा वित्तीय संस्थाले सेयरमा लगानी गर्ने अभ्यासलाई केही बढावा दिएपनि विगतमा किनेको सेयर बिक्री गर्ने होडबाजी चल्दा बिक्री चाप आउन सक्ने उत्तिकै सम्भावना रहन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।