कोरियाबाट फर्केर माछापालनमा पुन


बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो रिसोर्ट छ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी घर भई बागलुङ बजार बस्दै आएका पुनले विगत छ वर्षदेखि रिसोर्टसँगै माछापालन गर्दै आएका छन् । 
 
उनले १४ वर्ष दक्षिण कोरियामा बिताएर फर्केपछि माछापालन सुरु गरेको हो । तीन वर्षअघिदेखि माछा खान आउने ग्राहकलाई  मध्यनजर गरी उनले रिसोर्ट पनि खोलेको छ । 
 
“श्रमिकका रूपमा कोरिया पुगेको थिएँ । कोरियामा कडा मेहनत र परिश्रम के हो भन्ने शिक्षा पाएँ, कोरियामा कमाएको पैसाले १४ रोपनी जग्गा भाडामा लिएर माछापालन, तरकारीखेती र रिसोर्ट खोलेको हुँ”, उनले भने, “कोभिड–१९ सुरु हुनुअघि एकैपटकमा माछाबाट छ लाखसम्म आम्दानी भयो । त्यसपछि दानाको मूल्य बढ्यो र माछा उत्पादन घटेको छ ।”
 
पुनका अनुसार माछाको उत्पादन राम्रो भएमा लगानीको दोब्बर नाफा हुन्छ । कोरियामा जस्तै नेपालमै काम गर्नसके कमाउन सकिन्छ भन्ने लागेर लगानी गरेको उनको भनाइ छ । ५० लाख रुपैयाँ लगानी गरकाले आम्दानी भए पनि अहिलेसम्म लगानी उठाउन बाँकी रहेको पुनले बताए ।
 
उनले छोरा अमृतलाईसमेत माछापालनमा लगाएको छ । माछापालन सिकाउँदै रिसोर्टको जिम्मेवारी छोरालाई दिएको छ । “कोरियामा मेसिनको गतिमा काम हुने, कामप्रतिको लगाव, मेहनत र श्रमप्रतिको सम्मानबारे गतिलो भोगाइ र सिकाइले नेपालमा फर्केर आराम गर्न सकिँन, ६२ वर्षको उमेरमा माछापालनमा उत्तिकै सक्रिय छु”, उनले भने । 
 
चार वर्ष निकै फस्टाएको माछापालन अहिले घटेको उनको भनाइ छ । १४ रोपनी जग्गाको वार्षिक एक लाख ५० हजार रुपैयाँ भाडा तिर्नुपर्छ । उनले रिसोर्ट, तीन वटा माछापोखरी, रेष्टुराँ, तीन वटा प्लास्टिक टनेल र तरकारीखेती लगाएको छ । 
 
पोखरीमा उत्पादित माछा बागलुङ बजारमै खपत हुने भएकाले बजारको चिन्ता नभएको उनले बताए । उत्पादन बढाउन यस वर्ष भुरामा लगानी थप गरेको पुनले जानकारी दिए । तीन लाखको भुरा पोखरीमा हालेपछि राम्रोसँग हुर्केमा १२/१५ लाख आम्दानी हुने तर राम्रो उत्पादन नभएमा पाँच छ लाख रुपैयाँमै सीमित हुने उनको भनाइ छ । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।