सामाजिक सञ्जालमा डलर तिरी विज्ञापन गरे विगोको तीन गुणासम्म जरिवाना लाग्ने

0
Shares

सामाजिक सञ्चालमा विदेशी मुद्रा खर्च गरी विज्ञापन गराए गैरकानुनी हुने भएको छ। विदेशी मुद्रा खर्चेर समाजिक सञ्जालमा विज्ञापन गराएको विगोको ३ गुणासम्म जरिवाना लाग्ने भएको हो। नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जाल र अनलाइन मार्फत गरिने विज्ञापन प्रकाशन प्रसारण बापतको भुक्तानी तथा प्राप्ति अनौपचारिक माध्यमबाट गरेमा गैरकानूनी हुने जनाएको छ।

राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै अनौपचारिक माध्यमबाट सामाजिक सञ्जालमा विज्ञापन गर्ने, बुस्ट गर्ने काम गरी पैसा ल्याउने वा लैजाने गरेमा विदेशी विनियम जफत गरी त्यस्तो व्यक्तिलाई बिगो बमोजिमको जरिवाना लेखी तीन गुणासम्म जरिवाना तिर्नुपर्नेछ।

केन्द्रीय बैंकले फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जाल तथा इन्टरनेट मार्फत गरिने विज्ञापन वापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानूनी भनेपछि कारबाहीको व्यवस्था पनि स्पष्ट भएको हो।

सामाजिक सञ्जालमा विज्ञापनका लागि ठूलो रकम बाहिरिएको भन्दै केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पनि यसको उपयुक्त व्यवस्था गरिने उल्लेख छ। बैंकिङ्ग च्यानल भन्दा बाहिरबाट यस्तो खालको वित्तीय कारोबार भएको भन्दै त्यसलाइ नियन्त्रण गर्न राष्ट्र बैंकले त्यसलाइ गैरकानूनी भएको स्पष्टता समेत दिएको हो।

सूचनामा भनिएको छ, ‘यस्तो कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकाले कसैले त्यसरी कारोबार गरेको पाइएमा विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ र प्रचलित कानून बमोजिम कारबाही हुनेछ।’

विदेशी विनियम २०१९ को दफा १७ बमोजिम प्रक्रिया विपरीत कुनै पनि व्यक्तिले काम गरेमा सो वापत कसुरसँग सम्बन्धित विदेशी विनियम जफत गरी त्यस्तो व्यक्तिलाई बिगो बमोजिमको जरिवाना लेखी तीन गुणासम्म जरिवाना हुने व्यवस्था छ।

तर, विदेशी विनिमय जफत गर्न नमिल्ने अवस्थामा कसुरसँग सम्बन्धित विदेशी विनिमयको विगो कायम गरी त्यसरी कायम हुन आएको बिगो बमोजिम जरिवाना बमोजिम बिगोको तीन गुणासम्म थप जरिवाना हुनेछ । उपदफा १ बमोजिम बिगो कायम गर्दा रकम खुल्न वा खुलाउन नसकिने अवस्था आइपरेमा कसुरको मात्रा हेरि २ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था ऐनमा रहेको छ।