गरिब बस्तीमा खाना पकाउने इन्धनको चिन्ता


बर्खा सुरु हुन लाग्दासमेत खाना पकाउने इन्धन सञ्चित नभएपछि महोत्तरीको झुपरका स्थानीयवासी चिन्तित छन् । यसपालि वनमा पतझड झर्ने बित्तिकै डढेलो लागेकाले उनीहरूले पतिङ्गर सोहोर्न पाएनन् । सोही कारण झुपर बस्तीका स्थानीयवासी बर्खामा खानेकुरा केले पकाउने भन्ने चिन्तामा पिरोलिएका हुन् ।

अन्नपात बनिबुतो गरी जोहो गरे पनि पतिङ्गर साँच्न नपाउँदा खाना पकाउने इन्धन छैन । ‘अमकीबेर पतोइ नई समटायल, बर्खामें केना खाना बनतैु (यसपालि पतिङ्गर समेट्न सकिएन, बर्खामा अब कसरी खाना पाक्ला ?) भङ्गाहा-६ हसिर्वाको झपौल बस्तीकी हेमकली सदा मुसहर भन्छिन्, ‘बोइन कक लायल दाना भी पकाक खाएके नोवत नइरहलु (मजदुरी गरेर ल्याइने अन्नपात पनि पकाएर खाने अवस्था रहेन) । जिल्लाका मुसहर, बाँतर समुदायका गरिबको पतिङ्गर सोहोरेर इन्धनको जोहो गर्ने पुरानै चलन हो ।

‘चैत, वैशाख हमनीके पतोई सम्टके बेर रहैछै, मुदा अइसाल जङ्गलमें सुनगाइल आइगके कारण नई सम्ट सकली’ (चैत, वैशाख हाम्रो पतिङ्गर सोहोर्ने बेला हो, तर यसपालि डढेलोले दिएन) गौशाला-४ की भुल्ली सदाले भनिन्, ‘गामघरमें गिरहत फुलबारीमें पैस नई देइय, हमरा सबसन गरिबके कोनो जिनगी अईु (गाउँघरका मालिक बगैँचामा पस्न दिँदैनन्, हामीजस्ता गरिबको कुनै जिन्दगी हो ?) सङ्कलित पतिङ्गर बेचेर कमाउने नगद पनि यसपालि नभएको भङ्गाहा-४ पलारको बाँतरटोलकी पल्टी बाँतरले गुनासो गरिन् ।

यहाँका स्थानीयवासीले चैत र वैशाखमा सङ्कलन गरेका पतिङ्गर आफूलाई वर्षभरि चाहिने राखेर अरू किसानलाई बेचेर आम्दानी लिन्थे । बारीमा रोपिएका परवल, ओल, पिँडालु, अदुवा र बेसारलाई माटोमा चिस्यान राखिरहन पतिङ्गरले छोप्ने गर्छन् । वन क्षेत्रको पतिङ्गर सोहोर्न नपाएपछि आउने बर्खाको इन्धनको जोहोका लागि स्थानीवासीहरू अहिले सडक, चउर र चरन क्षेत्र चहार्दै छन् । यी ठाउँमा केही गोबर सङ्कलन गर्नसके चिपरी पथारेर सुकाउन सकिने उनीहरूको आशा छ । रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।