थानेश्वर आचार्यको बर्खास्तीपछि डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाललाई स्पष्टीकरण


नेपाल राष्ट्र बैंकले वरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना माथि भएको दुर्ब्यवहारका सम्बन्धमा दोस्रो चरणको कारबाही सुरु गरेको छ । केन्द्रीय बैंकले दोस्रो चरणमा डेपुटी गभर्नर बम बहादुर मिश्र र कार्यकारी निर्देशक देव कुमार ढकाललाई स्पष्टीकरण सोधेको हो ।

केन्द्रीय बैंकले पहिलो चरणमा ढुङ्गानालाई दुर्ब्यवहार गर्ने तत्कालीन निर्देशक थानेश्वर आचार्यलाई गत चैत ६ गतेदेखि लागु हुने गरी बर्खास्त गरेको थियो । त्यसपछि पुन ढुङ्गानाको उजुरी पछि आचार्यलाई उक्साउने, संरक्षण गर्ने, नियोजित रूपमा फोटो तथा भिडियो खिची पत्रकारलाई छाप्नका लागि दिने धम्क्याउने उच्च अधिकारीद्वय मिश्र र ढकाललाई पनि कारबाही हुनु पर्ने माग गरेपछि केन्द्रीय बैंकले दोस्रो चरणको कारबाही अघि बढाएको छ ।

दोस्रो चरणको कारबाहीमा केन्द्रीय बैंक गभर्नरको कार्यालयले माथिल्लो तहबाटै डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाललाई स्पष्टीकरण सोधेको नेपाल राष्ट्र बैंकका एक अधिकारीले बताए । ती अधिकारीले भने, “उहाँहरुको स्पष्टीकरण पनि गत पुस २७ गते नगरकोटमा बरिष्ठ डेपुटी गभर्नर डा। नीलम ढुङ्गाना म्याडम माथि भएको दुर्ब्यवहार सँगै जोडिएको दोस्रो चरणको कारबाही भन्दा हुन्छ ।”

बरिष्ठ डेपुटी गभर्नर माथि भएको दुर्ब्यवहारको छानवीन गर्ने गरी उपयुक्त कारबाही गर्नका लागि केन्द्रीय बैंकले समिति नै गठन गरेको थियो । सो समितिले घटनासंग जोडिएका व्यक्तिहरूको बयान लिएको थियो । बयानका क्रममा, यस घटनामा मिश्र र ढकालको संलग्नता भएको ढुङगानाको दावी थियो । सो दावी अनुसार आचार्यसंगै उनीहरू माथि पनि कारबाही हुनु पर्नेमा त्यसो नभएपछि उक्त घट्नाले नयाँ मोड लिएको हो ।

घट्नाको नयाँ मोडमा मिश्र र ढकाललाई गभर्नरको कार्यालयले गत बैशाख ३० गते स्पष्टीकरण सोधेको छ । कार्यालयले उनीहरूलाई, ढुंगानालाई दुर्ब्यवहार गर्ने थानेश्वर आचार्यलाई उक्साएको, घट्नाको फोटो भिडियो खिचेको, सञ्चारकर्मीलाई दिएको तथा समाचार प्रकाशन गर्ने धम्की दिएको र उक्त घट्नाको विषयलाई लिएर गभर्नर समक्ष लिखित निवेदन नदिन धम्क्याएको आरोपमा स्पष्टीकरण सोधेको हो । सो विषयमा मिश्र र ढकालले गभर्नरको कार्यालयलाई स्पष्टीकरण समेत बुझाई सकेका छन् । उनीहरूको जवाफको आधारमा गभर्नरले कस्तो कदम लिन्छन भन्ने विषय भने बाँकी नै छ । सोही घट्नालाई लिएर राष्ट्रीय महिला आयोग तथा राष्ट्रीय मानव अधिकार आयोगले पनि अनुसन्धान गरिरहेका छन् ।

त्यसैगरी बर्खास्तीमा परेका आचार्यले केन्द्रीय बैंकको सञ्चालक समिति समक्ष पुनरावेदन गरेका थिए । उनको पुनरावेदन केन्द्रीय बैंकको सञ्चालक समितिले अस्विकार गरिसकेको छ । गत पुस २७ को घटना पछि गभर्नरले कार्यकारी निर्देशकहरूको जिम्मेबारी २ पटक हेरफेर गरिसकेका छन् । लामो समय बैंक सुपरिवेक्षण विभागको प्रमुख रहँदै आएका देव कुमार ढकाललाई गभर्नरले पहिलो चरणमा चलाएनन् । वरिष्ठ डेपुटी गभर्नर मातहत भएको विभागलाई नै झिकेर आफू अन्तर्गत राखी विभागीय प्रमुखमा ढकाललाई नै राखेका थिए । दोस्रो चरणमा ढकाललाई वित्त विभागको प्रमुखको जिम्मेबारी दिएका छन् ।

पछिल्लो समयमा मिश्र विदेशी विनिमय विभाग आफू मातहत ल्याउने दाउमा देखिएका छन् । उनले ढुङ्गाना मातहत भएको विदेशी विनिमय विभागबाट सोचे जस्तो काम नहुदाँ विदेशी लगानीको आप्रवाहमा समेत असर गरेको भन्दै आरोप लगाउने गरेका छन् । त्यसैगरी विदेशी विनिमय विभागले काम गर्न नसक्दा समग्र विदेशी लगानी नै प्रभावित हुन सक्ने भन्दै नेतृत्व फेर्नु पर्ने जोडबलमा मिश्र सक्रिय देखिन्छन ।

गत मङ्सिरमा गभर्नर अधिकारीले मिश्र मातहत भएको बैंक सुपरिवेक्षण विभागको जिम्मेवारी ढुङ्गानालाई दिएका थिए । आफू मातहत भएको विदेशी विनिमय ब्यवस्थापन विभाग र बैंक सुपरीवेक्षण विभाग ढुङ्गानाको जिम्मेबारीमा आए पछि मिश्र असन्तुष्ट थिए । उता आफ्नै समकक्षिलाई हाकिम मान्नु पर्ने तथा रिपोटिङ गर्नु पर्ने भएपछि देवकुमार ढकाल पनि असन्तुष्ट थिए । ढुङ्गानासँग प्रतिशोधको भावना बनाएका मिश्र र ढकालले आचार्यको बचाउ गर्दै आएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।