प्रधानमन्त्री प्रचण्डलाई चौथो पटक सदनबाट विश्वासको मत प्राप्त


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा बैठकबाट विश्वासको मत प्राप्त गरेका छन। आज बसेको बैठकमा उनले लिएको विश्वासको मतको पक्षमा १५७ मत र विपक्षमा शुन्य मत परेको छ । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) बमोजिम विश्वासको मत लिएका हुन।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदको होहल्ला र विरोध गरे पनि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मत लिने प्रक्रिया सुरु गरेका थिए । कांग्रेस सांसदले सहकारी विषयमा छानविन गर्न संसदीय छानविन समिति गठन गर्न माग गर्दै विरोध गर्दैआएका छन् । प्रधानमन्त्रीको प्रस्तावमा तटस्थ मत १ परेको छ।

सभामुख घिमिरेले प्रधानमन्त्रीलाई बहुमत सदस्यले विश्वासको मत दिएको भन्दै बधाई ज्ञापन गरे । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले गत वैशाख ३१ गते सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले सोमबार चौथो पटक सदनबाट विश्वासको मत लिएका हुन । सरकारलाई समर्थन गरेको दलले बिचैमा सरकारबाट बाहिरिएमा ३० दिन भित्र विश्वासको मत लिने संवैधानिक व्यवस्था रहेको छ ।

२०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले यसअघि चैत ६ गते, चैत २६ गते, पुस ३० गते विश्वासको मत लिएकाथिए । प्रधानमन्त्री प्रचण्डको पक्षमा नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले मत दिए।

त्यसैगरी विश्वासको मतको विपक्षमा नेपाली काँग्रेस, राप्रपा, जसपा, लोसपा लगायत दल उभिए । तर उनीहरुले मतदान गरेनन । प्रतिनिधिसभाको अर्को बैठक जेठ ८ गते विहान ११ बजे बस्ने सभामुख घिमिरेले बैठकलाई जानकारी गराए।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।