नेपाली फर्निचर उद्योगीलाई आफ्ना उत्पादनमा एनएस चिन्हको प्रयोग गर्न सुझाव


उद्योग सचिव कृष्ण बहादुर राउतले नेपाली फर्निचर उद्योगहरुलाई आफ्ना उत्पादनमा एन।एस चिन्हको प्रयोग गरी विक्री वितरण गर्न सुझाव दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको फर्निचर तथा फर्निसिङ व्यवसायका सम्भावना एवं चुनौती विषयक अन्तरक्रियालाई संवोधन गर्दै उनले नेपाली फर्निचरका सामान आयातित फर्निचरसंग प्रतिस्पर्धा गर्न कठिनाई भैरहेको गुनासो आइरहेको बेला एनएस चिन्हको प्रयोग गरी विक्रीवितरण गर्न सकिए नेपाली उत्पादनको बजार राम्रो हुने बताएका हुन् ।

सचिव राउतले १५ प्रतिशत महंगो भएपनि स्वदेशी उत्पादननै उपभोग गर्नुपर्ने नीतिमा पुन संशोधन गरी २० प्रतिशतसम्म महंगो भएपनि स्वदेशी उत्पादननै उपभोग गर्नुपर्ने संशोधित व्यवस्थालाई मन्त्रिपरिषदबाट छिट्टै पारित गराई कार्यान्वयनमा ल्याउने बताएका छन् ।

नेपाली उद्योग अहिले पनि शिशु अवस्थामै रहेकाले उद्योगको संरक्षण गर्ने नीति सरकारको रहेको उनले स्पष्ट पारे । उद्योग सचिवले हामी उपभोगमुखीबाट उत्पादनमुखी हुन नसकेसम्म नेपाली उद्योग फस्टाउन नसक्ने भन्दै उत्पादनमुखी अर्थतन्त्र निर्माणमा लाग्न पनि व्यवसायीलाई आग्रह गरे । उनले करको दायरा फराकिलो पार्दै उद्योगी व्यवसायीलाई पनि समस्या नपर्ने र उद्योग व्यवसाय पनि सहज ढंगले संचालन गर्न सहयोग हुने खालको कर प्रणाली अवलम्वन गर्न मन्त्रालयले समन्वय गर्ने विश्वास दिलाए ।

उनले पोके व्यवसायीले सिमापारीबाट ल्याएका सामानका कारण आन्तरिक उत्पादन प्रभावित भएकाले सवै प्रकारका अनधिकृत व्यवसाय वन्द गर्न व्यवसायीले गरेको आग्रहमा सचिव राउतले सरकारले यस्ता गैरकानूनी कार्य नियन्त्रण गर्न काम गरीरहेको र त्यसले छिट्टै सफलता पाउने वताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले पनि फर्निचर उद्यमीलाई एनएस चिन्ह लिएर काम गर्न आग्रह गरे । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले मुलुकलाई समृद्ध बनाउन आन्तरिक स्रोत साधनमा आधारित उद्यम व्यवसाय बढाउनु पर्ने र वनमा आधारित उद्योग व्यवसाय नेपालको सामथ्र्य भएको दावी गरे । सरकारको उचित नीति भयो भने आन्तरिक मागलाई पुरा गर्दै नेपालले निर्यात समेत गर्न सक्ने ठूलो सम्भावना रहेको उनले दावी गरे ।

यस्तै, महासंघका उपाध्यक्ष हेमराज ढकालले मुलुकको अर्थतन्त्रमा सदस्य वस्तुुगत संघहरुले प्रतिनिधित्व गर्ने क्षेत्रको हिस्सा ठूलो रहेकाले वस्तुगत संघहरुले दिएका सुझावलाई राज्यले गम्भीर भएर समाधान गर्नुपर्नेमा जोड दिए । स्वदेशी उत्पादनका सूची तयार गरी सरकारलाई महासंघले पेश गरिसकेकाले २० प्रतिशतसम्म महंगो भएपनि स्वदेशी वस्तुनै अनिवार्य उपभोग गर्नुपर्ने नीति जतिसक्दो छिटो कार्यान्वयन ल्याउन पनि आग्रह गरे । कार्यक्रममा उपाध्यक्ष ढकालले निजी क्षेत्रका समस्या चुनौती वुझिदिएर तीनको समाधान सहित आफ्नो कर्ममा लाग्ने वातावरण वनाई आग्रह पनि गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।