आईपीओ निष्काशन गर्न लागेको रुदीखोला–‘बी’ ले उत्पादन थाल्यो, ६.६ मेगावाट विद्युत थपियो

0
Shares

निजी क्षेत्रको लगानीमा लमजुङमा निर्माण भएको रुदीखोला–बी जलविद्युत आयोजनाले शनिबारदेखि विद्युत उत्पादन सुरु गरेको छ।

६ दशमलब ६ मेगावाट क्षमताको आयोजनाको विद्युत गृह लमजुङको क्वहोलाछार गाउँपालिका–५ सिन्दीमा छ। सो आयोजना बिन्दवासिनी हाइड्रो पावर कम्पनीले निर्माण गरेको हो।

आयोजनाबाट उत्पादित बिजुली मिजुरेडाँडा सवस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो।

१५ दिनसम्म परीक्षणका रुपमा विद्युत उत्पादन हुनेछ। सो अवधिभर सरकारले बिजुलीको रकम तिर्नुपर्दैन। परीक्षण प्रसारणको अवधि सकिएपछि व्यवसायिक उत्पादन सुरु हुने बिन्दवासिनी हाइड्रो पावर कम्पनीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए।

निर्माण सुरु भएको करिब दुई वर्षमै उत्पादन सुरु भएको उक्त आयोजनामा प्रतिमेगावाट १८ करोड खर्च भएको कम्पनीका सचिव जनार्दन अर्यालले बताए।

बिन्दवासिनीले निर्माण गरेको ८.८ मेगावाटको रुदीखोला–ए जलविद्युत आयोजनाले गत वर्षको चैतदेखि व्यवसायिक उत्पादन गर्दै आएको छ। ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत आयोजनामा पनि बिन्दवासिनी समूहले लगानी गरेको छ।

२५ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर

उक्त आयोजना निमार्ण गरिरहको बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २५ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर निष्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन गरेको छ ।

कम्पनीले आयोजनास्थलका स्थानीयबासीलाई दश करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर तथा सर्वसाधारणलाई १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता शेयर बिक्री गर्ने अनुमति मागेको छ ।

कम्पनीले प्राथमिक शेयर निष्कासनका लागि सानिमा क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ।

कम्पनीले दुई वटा क्यासेट प्रोजेक्ट निर्माण गरेकोमा ८.८ मेगावाट क्षमताको रुदी खोला ’ए’को निर्माण कार्य सकिसकेको छ भने ६.६ मेगावाट क्षमताको रुदी खोला ’बि’ जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ।

सानिमा बैंकको अगुवाइमा पाँच बैंकले ऋण लगानी गरेको रुदी ‘बी’ जलविद्युत् आयोजनाको १ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान छ। आयोजनमा सानिमा बैंकको नेतृत्वमा पाँचवटा बैँकको ७० प्रतिशत र प्रवद्र्धकको तर्फबाट ३० प्रतिशत लगानी जुटाइएको छ।