हिमालयन डिष्टिलरीले ६ महिनामा कमायो साढे २५ करोड खुद नाफा

0
Shares

हिमालयन डिष्टिलरी (HDL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २५ करोड ४० लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ। चालु आवको प्रथम त्रैमासमा ९ करोड ७५ लाख नाफा कमाएको यस कम्पनीले पछिल्लो तीन महिनामा मात्रै १५ करोड ६५ लाखले नाफा बढाएको हो।

गत आवको पुस मसान्तसम्ममा यस कम्पनीले १८ करोड ५८ लाख १२ हजार खुद नाफा कमाएको थियो। कम्पनीले क्रिी तथा ढुवानी खर्चका शिर्षकहरु पनि निकै घटाएको छ भने लागत पनि व्यवस्थापक गरेको छ ।यसले कम्पनीको नाफा वृद्धिमा टेवा पुगेको छ ।यद्यपी हरेक वर्ष मदिराको अन्तशुल्क वृद्धि हुने भएकाले उपभोक्तको क्रयशक्तिको तुलनामा २५ र ३० युपि शक्तिको मदिरा बिक्री वितरणमा कमी आएको समेत कम्पनीले जनाएको छ।

पुस मसान्तसम्ममा कम्पनीको बिक्री आय १ अर्ब १२ करोड २४ लाखबाट ४ करोड १४ लाख रुपैयाँ घटेर १ अर्ब ८ करोड रुपैयाँमा खुम्चिएको छ । खर्च मितब्ययीता अपनाएका कारण ब्यापार घटेपनि नाफामा बढोत्तरी आएको छ।

गत आवको मुनाफाबाट ५० प्रतिशत बोनस ५२ प्रतिशत नगद लाभांश बाँडेको यस कम्पनीको पूँजीवृद्धिसँगै प्रतिशेयर आम्दानी भने ८७ रुपैयाँ ८३ पैसामा घटेको छ । पूँजीवृद्धिको चाप कम्पनीको इपिइसमा परेको हो। बोनस पश्चात यस कम्पनीको चुक्ता पूँजी ५७ करोड ८४ लाख ६८ हजार २५० रुपैयाँ पुगेको छ।

हिमालयन डिष्टीलरीको जगेडा कोषमा ४६ करोड ३२ लाख २० हजार सञ्चित छ। अहिले प्रतिकित्ता १ हजार २०५ रुपैयाँ शेयर मूल्य रहेको कम्पनीको मूल्य आम्दानी अनुपात १३.७२ गुणा हाराहारीमा हुन आउँछ भने प्रतिशेयर नेटवर्थ १८०.०७ रुपैयाँ छ ।

मदिराजन्य पेय पदार्थ उत्पादन गरेर बिक्री वितरण गर्दै आएको कम्पनीको खुद ब्यापारिक आम्दानी ५७ करोड ७४ लाख १८ हजार छ । गत आवको यसै अवधिमा ५५ करोड ६० लाख थियो। कम्पनीले अक्य आम्दानी पनि १ करोड ३७ लाखबाट वृद्धि गर्दै २ करोड ७९ लाख पुर्याएको छ ।

सरकारले २०७६ कार्तिक २५ गते अन्तशुल्क नियमावली संसोधन गरि स्प्रिटको उपलब्धिदरमा परिवर्तन गरेकाले कम्पनीले आफैँले स्प्रिट उत्पादन थालेको जनाएको छ । यसले कम्पनीको आगामी त्रैमासहरुमा आम्दानीमा वृद्धि हुने कम्पनीले जनाएको छ ।

कम्पनीले आफैँले स्प्रिट उत्पादन थालेपश्चात लागतमा कमी आई बोतलबन्दी मदिराको ब्यापारमा वृद्धि हुने भएकाले पनि कम्पनीको मुनाफा वृद्धि हुने कम्पनीले उल्लेख गरेको छ। चालु आवको प्रथम त्रैमासमा स्प्रिटको उत्पादन नहुँदा कम्पनीको ब्यापार घटेको थियो।

यस कम्पनीले गोल्डेन ओएक, ब्लाक ओएक रोयल ट्रिजर लगायतका ब्राण्डहरुको मदिरा उत्पादन तथा बिक्री गर्दै आएको छ।

प्रकाशित मिति: १९ माघ २०७६, आइतबार  ०९ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।