मध्यपहाडी पुष्पलाल लोकमार्ग एक हप्ताका लागि बन्द

0
Shares

पुष्पलाल मध्यपहाडी लोकमार्ग एक हप्ताका लागि बन्द भएको छ । लोकमार्गको दैलेख जिल्लाअन्तर्गत भगवतीमाई गाउँपालिकामा रहेको लोहोरे–बेस्तडा सडकखण्डमा यातायात बन्द गरिएको आयोजनाले जनाएको छ ।

लोकमार्गको लोहोरे–बेस्तडा–मन्घर सडकखण्डको छाँच भिरमा भएको ठाडो कडा चट्टानलाई काट्नुपर्ने र यस क्षेत्रको सडक चौडा गर्नुपर्ने भएकाले हिजो शनिबारदेखि यही माघ २४ गतेसम्म सडक बन्द गर्ने आयोजनाले जनाएको छ ।

अन्य ठाउँमा सडक चौडा भइसकेको भए पनि यस क्षेत्रको कडा चट्टानले बाटो चौडा बनाउने काम रोकिएको थियो । यस क्षेत्रमा पर्ने छाँचको २५० मिटर ९भिर० कटान गर्न लागिएको आयोजना कार्यालय दैलेखका प्रमुख इञ्जिनीयर नारायणप्रसाद न्युउरेले बताएका छन् । चट्टान फोडेर दोहोरो लाइन बनाउने भनिए पनि हाललाई एक लाइन नै बनाउने उनले जानकारी दिए ।

“एकै चरणमा यो काम सक्नुपर्ने भएकाले एक हप्ताका लागि सडक बन्द गराएर निर्माण कार्य सञ्चालन गर्न लागेका हौँ”, उनले भने । आयोजना कार्यालय दैलेखका सूचना अधिकारी तुलाराम शर्माले दिनरात काम गरेर पनि सात दिनमा काम सक्ने दाबी गरे । लोकमार्ग बन्द हुँदा जाजरकोटका केही स्थान र भगवतीमाई गाउँपालिकाबाट दैलेख तथा सुर्खेत आवतजावतसमेत केही दिन प्रभावित हुने भएको छ ।

प्रकाशित मिति: १९ माघ २०७६, आइतबार  १२ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।