सिटिजन्स बैंकद्वारा पार्टनर फर प्रोग्रेस भिडियो प्रतियोगिता आयोजना , प्रथम हुनेलाई ५० हजार दिइने


सिटिजन्स बैंकले ग्राहकसँगको संलग्नता बढाउन ‘पार्टनर फर प्रोग्रेस’ नामक फेसबुक भिडियो प्रतियोगिता आयोजना गरेको छ । व्यक्तिगत वा व्यावसायिकरूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुउर्‍याउने व्यक्ति वा संघ संस्थालाई सबैमाझ चिनाउने र सम्मान गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बैंकले जनाएको छ ।

सफलताको पछाडि आफ्नो नजिकको मान्छेको गरेको संघर्षलाई भिडियोमार्फत देखाउन खोजिएको बैंकले जनाएको छ । “एक आम व्यक्तिको पनि वास्तविक जीवनको सफलताको कथा अरूलाई प्रेरणाको स्रोत बन्न सक्ने र यो भिडियो प्रतियोगिताले धेरैलाई प्रेरित गर्ने विश्वास बैंकले लिएको छ,” बैंकले एक विज्ञप्ति मार्फत भनेको छ ।

आफ्नो प्रेरणादायक कथाहरूलाई छोटो मोबाइल भिडियो वा फेसबुक रिलको रूप दिएर प्रतियोगितामा समावेश हुन सकिनेछ । एक मिनेटसम्मको समयावधि भएको भिडियो बनाएर ह्यास्ट्याक पार्टनर फर प्रोग्रेससहित फेसबुकमा भिडियो अपलोड गरी सिटिजन्स बैंकको फेसबुक पेजलाई ट्याग गर्नुपर्नेछ ।

प्रतियोगितामा उत्कृष्ट हुने प्रथम हुने भिडियोलाई सम्मानस्वरूप नगद ५० हजार रुपैयाँ, द्वितीय हुने भिडियोलाई ३० हजार रुपैयाँ र तृतीय हुने भिडियोलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ । यो प्रतियोगिता जेठ महिनाभर सञ्चालन हुनेछ । सिटिजन्स बैंकले देशैभरि रहेका आफ्ना १९० वटा शाखा कार्यालय, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाइबाट सेवा दिँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।