कान्तिपुर र पशुपति सहकारीको अर्बौं रकम अपचलन गर्ने सीबी लामा पक्राउ


कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ र पशुपति सेभिङ एण्ड क्रेडिटको अर्बौं रकम अपचलन गरी फरार रहेका चन्द्रबहादुर तामाङ (सीबी लामा) पक्राउ परेका छन् ।

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई भारतीय सीमा छेउबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी नेपाली कांग्रेस काभ्रेका महासमिति सदस्यसमेत हुन् ।

लामा कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका तत्कालीन र हाल पशुपति सेभिङ एण्ड कोअपरेटिभका अध्यक्ष हुन् । उनीमाथि कान्तिपुरको ६ अर्ब बढी र पशुपतिको २ अर्ब गरी झण्डै ८ अर्ब रकम अपचलनको आरोप छ । यी दुवै सहकारी संस्थालाई सरकारले समस्थाग्रस्त घोषणा गरिसकेको छ ।

लामासहित कान्तिपुरका सञ्चालकले बचतकर्ता र सेयरधनीको रकमबाट घरजग्गा, निजी व्यवसायमा लगानी गरेका थिए । कान्तिपुर सहकारीले बचतकर्ताको ६ अर्ब ७८ करोड रूपैयाँ र पशुपति बचत तथा ऋण सहकारीले १ अर्ब ११ करोड ४८ लाख ३ हजार रुपैयाँ ठगी गरेको भन्दै समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयमा बचतकर्ताको उजुरीसमेत परेको छ । यी दुवै सहकारी संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरिसकेको छ । कान्तिपुर सहकारी गत फागुन ३ गते र पशुपति सेभिङ एण्ड क्रेडिट गत साउन १ गते समस्याग्रस्त घोषणा भएको हो ।

काठमाण्डौंको पुरानो र धेरै बचतकर्ता भएकोमध्ये एक कान्तिपुर सहकारीले शाखा तथा सेवा केन्द्र गरी १८ ठाउँमा सेवा विस्तार गरेको थियो । कुनै समय करिब १४ हजार बचत खाता खोलिएको सहकारीमा अहिले पनि करिब ७ हजार बचतकर्ताको ६ अर्ब १३ करोड बचत छ भने सहकारीको सेयर पूँजी करिब ४० करोड छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।