चार वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा

0
Shares

नेपाल राष्ट्र बैंकले निर्देशन उल्लङ्घन गरको भन्दै चारवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले सेञ्चुरी, सिटिजन्स, सिभिल र नेपाल बंगालादेश बैंकलाई जरीवाना तिराएको हो ।

केन्द्रीय बैंकको निर्देशन अनुसार कर्जा-स्रोत परिचालन अनुपात कायम गर्न नसकेको भन्दै सेञ्चुरी र सिभिल बैंक पनि कारवाही परेका छन् । सेञ्चुरी दोस्रो पटक यस्तो कारबाहीमा परेको हो । सेञ्चुरीलाई पहिलो ७ लाख १९ हजार ७ सय ६० रूपैयाँ तथा दोस्रोपटक पनि यही शीर्षकमा ४२ लाख ८ हजार ८ सय २० रूपैयाँ जरिवाना तिराइएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

यस्तै सिभिल बैंकलाई पनि केन्द्रीय बैंकले ३७ लाख ५७ हजार ४ सय ४५ रूपैयाँ जरिवाना तिराएको छ । सिभिल पनि कर्जा-स्रोत परिचालन अनुपात कायम गर्न नसक्दा पहिलो पटक कारबाहीमा परेको हो।

यसैगरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धि ऐन र निर्देशन उल्लङ्घन गरेको भन्दै सिटिजन्स बैंकलाई राष्ट्र बैंकले कारवाही परेको हो ।बैंकले राष्ट्र बैंकलाई २० लाख रूपैयाँ जरीवाना तिरेको छ । बैंकले पहिलो पटक यो निर्देशन उल्लङ्घन गरेको जनाइएको छ।

प्राथमिकता प्राप्त क्षेत्र कर्जामा तोकिएको सीमाअनुसार ऋण नदिएको भन्दै नेपाल बंगलादेश बैंक पनि कारवाहीमा परेको छ। बैंकले सबैभन्दा बढि ४ करोड १ लाख ३२ हजार रूपैयाँ जरिवाना तिरेको छ।