नेपाल–फिनल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक सम्पन्न


नेपाल-फिनल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक काठमाडौँमा सम्पन्न भएको छ । परराष्ट्र मन्त्रालयको युरोप अमेरिका डिभिजनका प्रमुख तथा सहसचिव गणेशप्रसाद ढकाल र फिनल्याण्डको अन्तर्राष्ट्रिय विकास विदेश मन्त्रालयका उपसचिव पासी हेलम्यानले आ(आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । भेटमा दुई पक्षबीच नेपाल-फिनल्याण्ड सम्बन्ध र द्विपक्षीय सहयोगका बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

समग्र द्विपक्षीय सम्बन्धको समीक्षा गर्दै दुवै पक्षले नेपाल-फिनल्याण्ड सम्बन्धको वर्तमान अवस्थाप्रति सन्तोष व्यक्त गरेका थिए । साथै उच्चस्तरीय भ्रमणको आदानप्रदान र साझेदारी अभिवृद्धिलगायतका सम्बन्धलाई निरन्तरता दिनुपर्नेमा दुवै पक्षले जोड दिएका थिए ।

नेपाली पक्षले फिनल्यान्डले खानेपानी, सरसफाइ, शिक्षा र जलवायु उत्थान जस्ता विभिन्न क्षेत्रमा निरन्तर विकास सहयोग गरेकामा धन्यवाद दिएको थियो । फिनल्याण्ड पक्षले नवीन सुविधा, विशेष गरी सार्वजनिक क्षेत्र लगानी सुविधामार्फत नेपालमा आफ्नो विकास सहयोग विस्तार गर्न इच्छुक रहेको उल्लेख गरेको थियो ।

बैठकमा क्षेत्रीय तथा विश्वव्यापी मञ्चमा सहकार्यका विषयमा पनि छलफल भएको थियो । दुवै पक्ष बहुपक्षीय मञ्चमा जलवायु परिवर्तन र बहुपक्षीयतालगायत विश्वव्यापी मुद्दाहरूमा सँगै काम गर्न सहमत भएका छन् । नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका साथै अर्थ, शिक्षा, विज्ञान र प्रविधि, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र खानेपानी मन्त्रालयका वरिष्ठ अधिकारीहरु र फिनल्याण्डको प्रतिनिधिमण्डलमा नेपालका लागि फिनल्याण्डका राजदूत रिना(रिक्का हेक्का र फिनल्याण्डको विदेश मन्त्रालय र राजदूतावासका अधिकारीहरु सम्मिलित थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ जेष्ठ २०८१, बिहिबार  ०६ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।