बीमा सूचना केन्द्र स्थापनार्थ प्राधिकरणद्धारा अन्तरक्रिया सम्पन्न

0
Shares

नेपाल बीमा प्राधिकरणद्वारा बीमा ऐन, २०७९ मा व्यवस्था भए बमोजिम बीमा सूचना केन्द्र स्थापनाका सन्दर्भमा केन्द्र सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा सूचना केन्द्र स्थापनाका लागि प्रारम्भिक चरणको छलफल सुरु भएको र सुझाव सङ्कलनलाई सघनताका साथ निरन्तररूपमा अगाडि बढाइने बताए ।

अध्यक्ष सिलवालले भने, “नागरिकको जीवन, सम्पत्ति र राष्ट्रिय सम्पत्तिको सुरक्षण गर्न आवश्यक सूचना प्राप्त गर्ने किसिमले बीमा सूचना केन्द्र स्थापनाका लागि सुझावहरू सङ्कलन गर्न सुरु गरिएको छ, केन्द्रको स्थापनाबाट सरकारी निकाय, समग्र बीमा बजार र नागरिकलाई फाइदा पुग्नेछ ।” केन्द्रले सम्बोधन गर्नुपर्ने क्षेत्र, केन्द्रित हुनुपर्ने विषय र सरकारी निकायहरुसँगको आवद्धता लगायतका विषयमा कार्यक्रमबाट ठोस सुझावहरू प्राप्त हुने अपेक्षा गर्नुहुँदै अध्यक्ष सिलवालले भने, “कार्यक्रमहरूबाट प्राप्त हुने सुझावहरूका आधारमा केन्द्रको स्थापनाको कार्य अगाडि बढाइनेछ, विपद् व्यवस्थापनलाई समेत अङ्गकै रुपमा लिइनेछ, स्वदेशी विज्ञलाई प्रोत्साहित गरिनेछ ।” नेपाल बीमा प्राधिकरण, सञ्चालक समितिका सदस्य कपिलदेव ओलीले बीमा सूचना केन्द्रको स्थापनाबाट बीमा सम्बन्धी सूचनालाई व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउन तथा बीमाका समग्र गतिविधिलाई सक्रियरूपले अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जोखिम र बीमा एउटै सिक्काका दुई पाटा भएकाले बीमा सूचना केन्द्र स्थापना गर्दा जोखिमको पाटोलाई पनि सँगसँगै लानुपर्ने र केन्द्र नेपाली मोडेलको हुनुपर्ने विचार व्यक्त गरे ।
नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मीले बीमा सूचना केन्द्रको स्थापनालाई सहयोग पुग्ने गरी अन्तर्राष्ट्रियस्तरको सफ्टवेयर कार्यान्वयनमा ल्याउनुपर्ने धारणा राखे । नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा सूचना केन्द्रको प्रारम्भिक खाका प्रस्तुत गर्दै बीमामा हुने बदमासी, जालसाजी, कीर्ते र दोहोपनालाई नियन्त्रण गर्न केन्द्रको स्थापना आवश्यक भएको बताए ।

नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले स्वागत मन्तव्य व्यक्त गर्दै सरकारबाट बीमा नियमावली स्वीकृत भई कार्यान्वयनमा आएपछि बीमा सूचना केन्द्र स्थापनाको कार्य अगाडि बढाउन प्रारम्भिक खाका तयार गरी सुझावहरू सङ्कलन गर्न सुरु गरिएको बताए ।

कार्यक्रममा सहभागीहरूले स्थापना हुन लागेको बीमा सूचना केन्द्रमा अनलाइन माध्यमबाट सूचना सङ्कलन गर्ने र बीमकहरूका सूचनालाई एकीकृत गर्ने व्यवस्था हुनुपर्ने, सूचना प्रमाणीकरणका लागि प्राविधिक समितिको व्यवस्था गर्नुपर्ने, सरकारी सूचना प्रणालीसँग आवद्ध गर्नुपर्ने, मुलुकको सङ्घीय संरचना अनुरुपको हुनुपर्ने, सूचनाको दायरा निक्र्यौल गर्नुपर्ने, बीमामा सुशासन, ग्राहक पहिचान र सूचना प्रविधिको प्रयोगलाई समेट्नुपर्ने लगायतका सुझावहरू दिएका थिए ।

बीमा सूचना केन्द्रको सम्भावित स्वरुपका बारेमा सम्बन्धित मन्त्रालय, सरकारी निकाय, नेपालस्थित अन्तर्राष्ट्रिय निकाय, विश्वविद्यालय, बीमक, पेशागत बीमा अभिकर्ता सङ्घ र नेपाल बीमा सर्भेयर सङ्घबाट राय सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय तथ्याङ्क कार्यालय, नेपाल राष्ट्र बैङ्क, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय तथ्याङ्क विभाग र कर्जा सूचना केन्द्रका पदाधिकारीहरू, बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा पेशागत बीमा अभिकर्ता सङ्घ र नेपाल बीमा सर्भेयर सङ्घका प्रतिनिधिहरूको सहभागिता थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ जेष्ठ २०८१, बिहिबार  १४ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।