पोखरा विमानस्थलको काम छ महिना अगाडि नै सकिने

0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेशकुमार भट्टराईले गरिबी अन्त्य तथा सामाजिक न्यायसहितको समाजवाद निर्माण गर्नुपर्ने बेला आएको बताएका छन् ।

एक सय ८ फिटको व्यासमूर्ति निर्माणका लागि व्यासक्षेत्र शिव पञ्चायन विकास कोषको आयोजनामा आजदेखि तनहुँको दमौलीमा शुरु महायज्ञको उद्घाटन गर्दै मन्त्री भट्टराईले मुलुकको विकासका लागि सरकार कार्ययोजनासहित अगाडि बढेको बताए ।

मन्त्री भट्टराईले वैदेशिक व्यापार घाटा सन्तुलनमा ल्याउने, पूर्वाधार विकास, ऊर्जाको विकासमा जोड दिइएको भन्दै ऊर्जामा नेपाल आत्मनिर्भरताको बाटोमा अगाडि बढिसकेको बताए । काठमाडौंँमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलले मात्र धान्न नसक्ने भएकाले भैरहवा, पोखरा र निजगढमा विमानस्थल निर्माणलाई तीव्रता दिइएको उनले बताए ।

गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउने तयारी भइसकेको भन्दै मन्त्री भट्टराईले पोखरा विमानस्थलको काम तोकिएको समयभन्दा छ महीना अगाडि नै सकिने बताए । निर्माणाधीन विमानस्थलले नेपालको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

दमौलीमा निर्माण गर्न लागिएको बेदव्यासको १०८ फिटको मूर्तिले धार्मिक पर्यटनमा भूमिका खेल्ने भएकाले आगामी बजेटमा सरकारका तर्फबाट पर्याप्त बजेट विनियोजन गरिने मन्त्री भट्टराईले प्रतिबद्धता व्यक्त गरे । नेपाल धार्मिक सहिष्णुता मुलुक भएकाले अन्य धर्मका मानिस पनि मूर्ति अवलोकनका लागि आउने र यसले समग्र तनहुँकै पर्यटनमा योगदान पुग्ने उनको भनाइ थियो ।