डिम्याट खाताको संख्या ६३ लाख नजिक, मेरो सेयरका सक्रिय प्रयोगकर्ता ३५ लाख

0
Shares

सेयर बजारमा सुधारको क्रम सुरु भएसँगै सेयर बजारमा सहभागि हुनेहरुको संख्या बढ्न थालेको छ । विगत ६ महिनादेखि धितोपत्र बोर्डको अध्यक्ष रिक्क्त रहदा प्राथमिक निष्काशनको क्रम रोकिएपछि डिम्याट खाता खोल्ने क्रममा पनि सुस्तता देखिएको थियो।

तर, पछिल्ला केहिदिन यता दोस्रो बजारले सुधारको गति लिनुका साथै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भएमा प्राथमिक निष्कासन समेत खुला हुने अपेक्षामा डिम्याट खाता खोल्ने क्रममा बढोत्तरी आउन थालेको हो ।

धितोपत्र बजारमा नयाँ लगानीकर्ता थपिन थालेसँगै डिम्याट खाता संख्या ६२ लाख ९३ हजार नाघेको छ । केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) का अनुसार क्रमिक रुपमा डिमाट खाता खाल्नेहरुको संख्या बढिरहेको छ । डिम्याट खाताको तुलनामा मेरो सेयरमा आबद्ध हुनेहरुको संख्या भने केही कम रहेको सिडिएससीले जनाएको छ ।

सिडिएससीका अनुसार हालसम्म मेरो सेयरमा आबद्ध हुनेको संख्या ५३ लाख ४४ हजार ५०८ मात्र छ । उल्लेखित तथ्यांकका आधारमा डिम्याट खाता खोलेका मध्ये झण्डै साढे ९ लाखले मेरो सेयर सुविधा लिएका छैनन् ।

पछिल्लो समय सेयर ब्रोकरहरुको संख्या बढेसँगै उनीहरुले आफ्नोबाट सेयर कारोबार गर्नेहरुलाई आफैँकोमा डिम्याट खाता खुला गराइरहेका छन् । अर्कातिर उनीहरुले नयाँ लगानीकर्तालाई पनि बजारमा ल्याउन प्रयास गरिरहेका छन् । व्यवसाय विस्तार गर्दा पुरानासँगै नयाँ लगानीकर्तालाई बजार प्रवेश गराउन पहल गरिरहेका नयाँ ब्रोकरले सक्रिय प्रयोगकर्ताको संख्या भने न्यून हुने गरेको बताएका छन् ।

सिडिएससीका अनुसार ५३ लाख ४४ हजारले मेरो सेयर सुविधा लिएकोमा सक्रिय प्रयोगकर्ताको संख्या ३५ लाख ७५ हजार मात्र रहेको जनाएको छ । कुल हितग्राहीका आधारमा मेरो सेयरका सक्रिय प्रयोगकर्ता करिब ५७ प्रतिशत हाराहारी हुन आउँछ भने कुल मेरो सेयर प्रयोगकर्ताको आधारमा ६७ प्रतिशत मात्र हुन आउँछ ।

उल्लेखित तथ्याङ्कमा सक्रिय रहेका अधिकांश लगानीकर्ताको एकभन्दा बढी डिम्याट खाता सञ्चालनमा छ । आफैँ प्रत्यक्ष बजारमा सक्रिय रुपमा कारोबार गर्ने तथा लगानी व्यवस्थापन सेवा लिनेहरुले २ वटाभन्दा बढी डिम्याट खाता सञ्चालन गरिरहेका छन् ।

अर्कातिर बजारका सम्बन्धमा खासै जानकारी नभएका र डिम्याट खाता राम्ररी व्यवस्थापन गर्न नजानेकाहरुले अलग अलग स्थानमा डिम्याट खाता खाल्ने गरेका छन् । यस्ता हितग्राहीको संख्या पनि कुल संख्यामा सामेल भएको हुन्छ ।

केन्द्रीय निक्षेप प्रणालीले दोहोरो खाता भएका हितग्राही कुल हितग्राहीको ६ प्रतिशत हाराहारी रहेको जनाएको छ । उसका अनुसार हालसम्म खुलेका हितग्राही खाता मध्ये विभिन्न प्रयोजन तथा नजानेर दाहोरो खाता खोल्नेहरुको संख्या ४ लाख हाराहारी रहेको छ ।

हालसम्म खुलेका कुल हितग्राही खातामध्ये अधिकांश प्राथमिक निष्काशनमा सेयर आवेदन गर्ने किसिमका मात्र छन् । नियमित कारोबार गर्ने हितग्राहीको संख्या भने कुल हितग्राहीको अनुपातमा न्यून रहेको र प्राथमिक बजारमा अझै लगानीकर्ताहरु प्रवेश गर्दा हितग्राही खाता थप विस्तार हुने देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।