प्रूडेन्सियल क्यापिटलको दुई लाख कित्ता संस्थापक सेयर बिक्रीमा


प्रूडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले दुई लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्री गर्ने भएको हो ।

उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आषाढ ७ गते कार्यालय समयभित्र बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली – ११, काठमाडौंमा पुग्ने गरी आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले सेयर बोलकबोलको लागि न्यूनतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् भने अधिकतममा सम्पूर्ण कित्ता खरिद गर्न सकिने छ । बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर कित्ता संख्या, प्रति कित्ताको दर रेट अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइने छ । केरमेट भएको ठाउँमा दस्तखत गर्नु पर्नेछ। धेरै नै केरमेट भई कबुल गरेको मूल्य रकम नबुझिने गरी पेश गरेको बोलपत्रलाई मान्यता दिइने छैन ।

शेयर खरिदको लागि न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । जसअनुसार उक्त मूल्य भन्दा कम मूल्य अंकित गरि पेश गरेको आवेदन स्वतः रद्द हुनेछ । सबैभन्दा बढी मूल्यमा बोलकबोल गर्ने आवेदकलाई शेयर बिक्री गरिनेछ । यसबाट पनि शेयर बाँकी रहेमा त्यस पछिको बढी बोलकबोल गर्नेलाई बिक्री गरिनेछ । बोलकबोलमा शेयर बिक्री गर्दै जाँदा अन्तिम मुल्यमा दुई वा दुई भन्दा बढी आवेदकहरु पर्न गएमा बोलकबोलबाट बाँकी भएको शेयरहरु माग भएको शेयर संख्याको सापेक्षिक भार अनुसार दामासाहीले बाँडफाँड गरिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।