अन्तर बैंक ब्याजदर बढेपछि राष्ट्र बैंकले दश अर्बको रिपो जारी गर्दै

0
Shares

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखा परेको तरलताको असहज अवस्था हटाउन तथा अन्तर बैंक ब्याजदर नियन्त्रण गर्न बुधबार वित्तीय प्रणालीमा १० अर्ब रुपैयाँ पठाउने भएको छ ।

राष्ट्र बैंकले ७ दिने रिपो मार्फत बजारमा दश अर्ब पठाउन लागेको हो। रिपोको ब्याजदर न्यूनतम ४.५ प्रतिशत तोकिएको छ।

तरलता अभाव गहिरिएपछि अन्तर बैंक ब्याजदर समेत झण्डै पाँच प्रतिशत पुगेको छ । अन्तर बैंक ब्याजदर नियन्त्रणमा राख्न पनि रिपो जारी गर्न लागिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकार भट्टले नोटबजारलाई बताए। भट्टका अनुसार माघ २१ गते मंगलबारसम्म बैकिंङ प्रणालीमा अनिवार्य नगद अनुपात (सिआरआर) बाहेक ३१ अर्ब तरलता रहेको छ ।

केन्द्रीय बैंकले ब्याजदर करिडोर उपकरणमार्फत बजारमा तरलता व्यवस्थापन गरिरहेको छ । बैंकिङ प्रणालीमा लगानी योग्य रकमको अभाव भन्दा पनि अन्तर बैंक ब्याजदर सीमा बाहिर जान लागेकाले १० अर्बको रिपो जारी गरिएको प्रवक्ता भट्टले बताए ।

रिपो माघ २२ गते बुधबार अपरान्ह ३ बजे बोलकबोल गरेर जारी हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन्।

तरलता अभाव देखिएपछि राष्ट्र बैंकले पछिल्लो पटक गत माघ १६ गते एक साताका लागि १० अर्बको रिपो जारी गरेको थियो । उक्त रिपो माघ २१ गते परिपक्क भएपछि पुनस् तरलता अभाव देखिएको थियो। राष्ट्र बैंकले गत साता १० अर्बको रीपो जारी गर्दा ८ बैंकले ५४ आवेदन मार्फत १४ अर्ब ६० करोड माग गरेका थिए ।

राष्ट्र बैंकले चालु आर्थिक बर्षको साढे ६ महिनामा ५ पटक रिपो जारी गरिसकेको छ । पहिलो पटक पुस २ गते २० अर्बको रिपो जारी गरेको राष्ट्र बैंकले पुस १६ गते १५ अर्ब, पुस २९ गते २० अर्ब , गत माघ ७ गते २० अर्बको रिपो जारी गरेको केन्द्रीय बैंकले माघ १६ गते १० अर्बको रीपो जारी गरेको थियो ।

राष्ट्र बैंकले तरलता अभाव हुँदा विभिन्न उपकरणहरुको प्रयोग गरेर तरलता समेत प्रवाह गर्दै आइरहेको छ भने तरलता धेरै हुँदा प्रशोचन गर्ने गरेको छ ।