४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसनको उद्घाटन, विद्युत् बजार विस्तारका लागि थप महत्वपूर्ण

0
Shares

देशभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङमा ४०० केभी हेटौंडा सबस्टेसनको उद्घाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार नेपालको तेस्रो ठूलो ४००/२२०/१३२/११ केभी हेटौंडा सबस्टेसन उद्घाटन गरेका छन ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको करिब ४० मेगावाट विद्युत् बंगलादेशतर्फ निर्यात गर्न अब छिट्टै तीन मुलुकका विद्युत व्यापारमा सङ्लग्न निकायहरूबीच त्रिपक्षीय सम्झौता हुने र त्यसपछि नेपालको विद्युत बंगलादेश निर्यात सुरु हुने बताए । बंगलादेश विद्युत् निर्यात सुरु हुने दिने दिन नेपालको ऊर्जा विकास र विद्युत् बजार विस्तारका लागि थप महत्वपूर्ण हुने उल्लेख गरे।

उनले भने, ‘केही दिनअघि समकक्षी सम्मानीय श्री नरेन्द्र मोदीजीको सपथ ग्रहण कार्यक्रममा जाँदा भएको भेटमा विगतमा गरिएका द्धिपक्षीय सम्झौताहरूलाई अझै सशक्त रूपमा कार्यान्वयन गर्ने, सीमा समस्या, पञ्जेश्वर जलविद्युत आयोजनाको कार्यान्वयन, व्यापार तथा पारवहनलगायतका विषयमा महत्वपूर्ण छलफल गरेको छु, यसबाट दुई मुलुकबीचको दीर्घकालीन विद्युत् व्यापार सम्झौता कार्यान्वयनमा महत्वपूर्ण उपलब्धी हासिल हुने विश्वास लिएको छु ।’

उनले देशभित्र खपत गर्न नचाहेर भारततर्फ विद्युत् निर्यात गरिरहेको नबुझ्न सबैलाई आग्रह गर्नुभयो । देशभित्र खपत बढाउन अझै पनि पूर्वाधार अभाव रहेको उल्लेख गदै प्रधानमन्त्रीले पूर्वाधार सुधार तथा विस्तार गर्ने र खपत गरी बढी बचत भएको विद्युत् निर्यात आवश्यक रहेको बताए ।

उनले अब विद्युत्को पहुँच मात्र होइन, आन्तरिक रूपमा विद्युत्को खपत बढाउन पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित विद्युत् सेवा प्रवाहका लागि विशेष ध्यान दिएर उच्च प्राथमिकताका साथ काम गर्न ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिए ।

उनले भने, ‘हेटौंडा सबस्टेसनलाई ढल्केबर सबस्टेसनसम्म जोड्ने ४०० केभी प्रसारण लाइन निर्माणमा विगत ६/७ वर्षदेखि अवरोध रहेको मैले जानकारी पाएको छु । यस्तो रणनीतिक महत्वको प्रसारण लाइन निर्माणमा बाधक नबनी साधन बनिदिन स्थानीयलाई आग्रह गर्दछु । स्थानीय समुदायले उठाउनुभएका जायज मागलाई सम्बोधन गरी बाँकी काम तत्काल सम्पन्न गर्न पनि म सम्बन्धित पक्षलाई निर्देशित गर्दछु । साथै स्थानीय सरकार र प्रशासनलगायत सम्वन्धित निकायहरूलाई विकास निर्माणको कार्यमा आवश्यक सहयोग र सहजीकरण गरिदिन अनुरोध गर्दछु ।’

प्रधानमन्त्रीले ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भाष्यले स्थान पाउन थालेको परिस्थितिमा यस्ता ठूला–ठूला पूर्वाधारको निर्माण सम्पन्न हुनुले आशाको सञ्चार मात्र नगराई त्यस्ता गलत भाष्य र चर्चालाई तथ्य र तथ्याङ्कसहित निस्तेज तुल्याएको उल्लेख गरे ।

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बाट नुवाकोटको रातमाटेबाट निर्माण हुने ४०० केभीको डबल सर्किट प्रसारण लाइन हेटौंडा सबस्टेसनमा ल्याएर जोडिने छ । यसका लागि हेटौंडा सबस्टेसनमा आवश्यक पूर्वाधार संरचना निर्माण गरिसकिएको छ ।

राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत सरकार र प्राधिकरणको संयुक्त लगानीमा हेटांैडा, ढल्केबर इनरुवा ४०० के.भी. सवस्टेसन विस्तार आयोजना सुरु गरिएको थियो । आयोजनाअन्तर्गतका तीन वटै सबस्टेसन निर्माण सम्पन्न भएका छन् ।

हेटौडा ४०० केभी सवस्टेसन निर्माणका लागि डिसेम्बर २०१८ ठेक्का सम्झौता गएिको थियो । सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलियतपूर्ण ऋणमा नेपाल भारत विद्युत प्रसारण तथा व्यापार आयोजनावाट निर्माण गरिएको २२०/१३२/११ केभी हेटौडा सवस्टेसन निर्माणका लागि डिसेम्बर २०१८मा ठेक्का सम्झौता भएको थियो । ४००, २२० र १३२ केभी हेटौंडा सबस्टेसनको अनुमानित लागत तीन अर्ब रुपैयाँ रहेको छ ।

विश्वव्यापी फैलिएको कोरोना महामारी र त्यसको नियन्त्रण तथा रोकथामका लागि लागू गरिएको बन्दाबन्दीले निर्माण प्रभावित भएको थियो । कोरोना महामारीको कारणले सवस्टेसन जडान हुने विभिन्न उपकरणहरु र प्राविधिकहरु पूर्व निर्धारित समयमा नै आयोजना स्थलसम्म आइनपुगेको तथा अन्य कारणले आयोजनाको निर्माणमा केहि ढिलाइ भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।