बागमती प्रदेश : ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन


बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१\८२ का लागि ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गरेको वक्तव्यअनुसार आगामी आर्थिक वर्षका लागि उक्त बजेट विनियोजन गरिएको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री थपलियाले प्रस्तुत गरेको बजेटमा चालुतर्फ २६ अर्ब १० करोड १७ लाख ८२ हजार रुपैयाँ छुट्याइएको छ । त्यसैगरी पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार रुपैयाँ रहेको छ । वित्तीय व्यवस्थातर्फ भने एक अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री थपलियाले बताए ।

कुल बजेटमा चालुतर्फ ४० दशमलव ४४ प्रतिशत, पुँजीगततर्फ ५६ दशमलव २३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ दुई दशमलव ३२ प्रतिशत बजेट छुट्याइएको मन्त्री थपलियाले जानकारी दिए । गत वर्ष प्रदेश सरकारले ६२ अर्ब र ७० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको थियो । यो बजेट अघिल्लो वर्षको तुलनामा करिब एक अर्ब ८३ करोड १४ लाख ३१ हजार रुपैयाँले वृद्धि भएको हो ।

सरकारले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको मन्त्री थपलियाले जानकारी दिए । यसैगरी आगामी आर्थिक वर्षलाई प्रदेश सरकारले सीप वर्ष घोषणा गर्ने पनि जनाएको छ । रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।