गर्मीमा महीको व्यापार, अन्य पेयपदार्थ भन्दा मही फाइदाजनक छ भन्ने देखाउन पहल सुरु


चर्को गर्मीसँगै यहाँका दुई सहकारी संस्थाले दूधबाट मही उत्पादन गरेर बजारीकरण गरिरहेका छन् । अन्नपूर्ण र गङ्गानगर दुग्ध उत्पादक सहकारी संस्थाले आफ्नो नयाँ उत्पादनका रुपमा महीलाई बजारमा ल्याएका हुन् । परीक्षण स्वरुप अहिले दुवै सहकारीले दैनिक एक–एक हजार बोटल मही उत्पादन गरेर बजारमा बिक्री गर्न थालेका छन् । अन्नपूर्ण सहकारी संस्थाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरी मही उत्पादन गरी बजारमा ल्याएको संस्थाका अध्यक्ष प्रदीप तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार अहिले दैनिक आधा लिटर र एक लिटरका बोटलमा उत्पादन हुँदै आएको छ ।

पछिल्लो समय मानिसले पिउने कोकाकोलालगायत पेयपदार्थको सट्टा मानव शरीर स्वास्थ्यलाई लाभ उपयुक्त हुनाका साथै कम खर्चिलो हुने भएकाले यसको बजारीकरण गर्न थालिएको तिमिल्सिनाले बताए । उनले भने, ‘महीको प्रवर्द्धन गर्न सके अन्य पेयपदार्थको सेवन घटाउन सकिन्छ ।

महीको उत्पादन र बजारीकरण हुँदा किसान पनि प्रत्यक्ष लाभान्वित हुनेछन् ।’ अहिले आधा लिटरलाई रु ३० र एक लिटरलाई रु ५० मा बिक्री गरिँदै आइएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । ‘कम मूल्य निर्धारण गरेर भए पनि महीको ‘ब्राण्ड’ बनाउन खोजेका छौँ’, उनले भने, ‘बजारको व्यवस्थापन हुन सके यसको व्यवसाय राम्रोसँग हुने र किसान पनि लाभान्वित हुने आशा गरेका छौँ ।’

भरतपुर महानगरपालिका–१३ मा रहेको गङ्गानगर दुग्ध उत्पादक संस्थाले पनि मही उत्पादन गरेर बिक्री वितरण गरिरहेको छ । दैनिक एक हजार बोटल र ८० लिटर खुला मही बिक्री गर्ने गरिएको अध्यक्ष कृष्णप्रसाद सापकोटाले जानकारी दिए । उनले भने, ‘यो हाम्रो सुरुवाती काम हो । अहिले परीक्षणको रुपमा बजारमा पठाएका छौँ । यसको प्रतिक्रिया सकारात्मक आए ब्राण्ड बनाउने योजनामा छौँ ।’ प्रतिलिटर एक रुपैयाँँ ५० पैसा नोक्सानी बेहोरेर पनि मही बजारमा पठाएको अध्यक्ष समपकोटाले बताए । स्वास्थ्यका लागि फाइदा दिने मही किनेर खानेबानी बसाल्नका लागि घाटा हुँदाहुँदै पनि बजारमा पठाइएको उनको भनाइ छ । उनले भने, ‘अन्य पेयपदार्थ भन्दा मही फाइदाजनक छ भन्ने देखाउन पहल थालेका छौँ ।’

चितवनसहित अन्य जिल्लाले पनि महीको व्यवसाय सुरु गर्न थालेका जनाउँदै सापकोटाले यसलाई राष्ट्रिय मान्यता दिएर बजारीकरण गर्न आवश्यक रहेकामा जोड दिए । उनले भने, ‘अहिले हामीले बजारमा स्थानीय उत्पदनलाई प्रवर्द्धन गर्ने उद्देश्यले मही पठाएका छौँ । यसलाई राज्यले बजारीकरणमा सहयोग गरेर सकारात्मक पहल गर्नुपर्ने आवश्यकता छ ।’ राज्यले दूधमा तोकेको मापदण्डअनुसार नै मही उत्पादन गर्दै आएको उनको भनाइ छ ।

चितवन दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले महीको बजारीकरणमा स्थानीय सरकारले सहजीकरण गरेर किसान तथा व्यापारीलाई प्रोत्साहन गर्नुपर्ने बताए । उनले भने, ‘गर्मी समयमा अन्य पेयपदार्थ भन्दा यो उत्तम हुन्छ र सस्तो पनि पर्छ । यसलाई राज्यले सहयोग गर्न सके किसान, व्यावसायीका साथै जनस्वास्थ्यमा सकारात्मक प्रभाव पर्नेछ ।’ अहिले उत्पादन गर्दै आएका संस्थालाई राज्यका तर्फबाट सहयोग हुनसके स्थानीय उत्पादनले बजार पाउने सङ्घका अध्यक्ष बगालेको भनाइ छ ।

अहिले यहाँका उत्पादनले आफै बजार खोज्नुपर्ने समस्या राज्यले हटाउनुपर्नेमा उनले जोड दिए । यहाँ उत्पादित मही अहिले चितवनसहित नवलपरासी (वर्दघाट–सुस्ता पूर्व), गोरखा र लमजुङ जाने गरेको उनले जानकारी दिए । भरतपुर महानगर क्षेत्रभित्रका डेरी उद्योग र दुग्ध उत्पादक किसानलाई महानगरले सहयोग गर्दै आएको छ । यहाँका किसानले दुधमा प्रतिलिटर तीन रुपैयाँ अनुदान पाउँदै आएका छन् भने डेरी उद्योगलाई महानगरले साझेदारीमा अनुदान सहयोग गर्दै आएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।