फरवार्ड कम्युनिटी माइक्रोको जगेडा कोष पूँजीको १.७४ गुणा मजबुत, EPS ८० रुपैयाँ

0
Shares

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स (FOWAD) को जगेडा कोषको आकार उसको चुक्ता पूँजीभन्दा १.७४ गुणा बढीले मजबुत रहेको वित्तीय विवरण सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक भएको वित्तीय विवरण अनुसार लघुवित्तको जगेडा कोषमा ८७ करोड २८ लाख रुपैयाँ सञ्चित रहेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ८०.३३ रुपैयाँ कायम गरेको छ। चुक्ता पूँजी ३० करोडबाट ५० करोड पुर्याएको यस कम्पनीले पूँजी वृद्धिको बाबजुत आफ्नो प्रतिशेयर आम्दानी कायम नै गरेको हो। गत आवको यसै अवधिमा कम्पनीको वार्षिक इपिएस १०३.३६ रुपैयाँ रहेको थियो।

चालु आवको ६ महिनामा लघुवित्तले २० करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आवको यसै अवधिको तुलनामा २९.५६ प्रतिशतले धेरै हो। गत आवको यसैअवधिमा यस्तो नाफा १५ करोड ५१ लाख रहेको थियो।

पुस मसान्तसम्ममा माइक्रोफाइनान्सले ५ अर्ब १८ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन तथा ५ अर्ब ७४ करोड ३९ लाख रुपैयाँ सापटी लिएर माइक्रोफाइनान्सले आफ्ना सदस्यहरुमा १० अर्ब ८४ करोड ६० लाख ऋण परिचालन गरेको छ। यसबाट लघुवित्तले १८.४५ प्रतिशतले खुद ब्याज आम्दानी बढाउँदै ४४ करोड ८३ लाख रुपैयाँ गरेको छ। माइक्रोफाइनान्सको सञ्चालन नाफा ३१ करोड ५७ लाख छ।

माइक्रोफाइनान्सको खराब कर्जा अनुपातमा ०.२६ बिन्दुले बढेर ०.९२ प्रतिशत पुगेको छ। यसैगरि माइक्रोफाइनान्सको प्रतिशेयर नेटवर्थ २३४.२५ रुपैयाँ, कोषको लागत १०.०६ प्रतिशत र मूल्य आम्दानी अनुपात १५.०४ गुणा छ।