आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा दुई अर्ब ६६ करोड बढी राजस्व सङ्कलन


आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा दुई अर्व ६६ करोड ८० लाख ३२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

आन्तरिक राजस्व कार्यालय भद्रपुरले गत आवको सोही अवधिको तुलनामा १६ करोड ६० लाख ९५ हजार बढी राजस्व सङ्कलन गरेको छ । गत आवको ११ महिनामा रु दुई अर्ब ५० करोड १९ लाख ३७ हजार राजस्व सङ्कलन गरेको थियो ।

आन्तरिक राजस्व कार्यालयले ११ महिनामा राखेको लक्ष्यको ८३ दशमलव ३५ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको सूचना अधिकारी भीमप्रसाद आचार्यले जानकारी दिए । “व्यापार व्यवसायमा मन्दी आउँदा राजस्व सङ्कलनको लक्ष्य नभेटिए पनि हालको सङ्कलन दर कायम राख्नुपर्ने चुनौती छ”, उनले भने ।

आन्तरिक राजस्व कार्यालयले आयकरबाट एक अर्ब २२ करोड रुपैयाँ, भाडा आयकरबाट तीन करोड चार लाख रुपैयाँ, ब्याजबापत १० करोड २१ लाख रुपैयाँ, मूल्य अभिवृद्धि करबापत एक अर्ब ११ करोड ९५ लाख रुपैयाँ, अन्तःशुल्कबापत ५८ करोड ७३ लाख राजस्व सङ्कलन भएको सूचना अधिकारी आचार्यले बताए। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आवमा तीन अर्व ७९ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।