नेपाल बङ्गलादेश बैंकको खुद नाफामा झिनो बढोत्तरी, वितरणयोग्य नाफा ४३ करोड ८१ लाख

0
Shares

नेपाल बङ्गलादेश बैंक (NBB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा निकै झिनो अन्तरले मात्र आफ्नो खुद नाफा बढाएको छ । व्यवसाय विस्तार नै सुस्त हुँदा बैंकको मुख्य आम्दानीको स्रोत ब्याज आम्दानी करिब ३ प्रतिशत (४ करोड १३ लाख) ले घट्दा बैंकको मुनाफा प्रभावित बनेको हो ।

यसैगरि राष्ट्र बैंकले स्प्रेडदरमा गरेको कडाईका कारण कोषको लागत र आधार दरमा सुधार हुँदा समेत बैंकको नाफा थोरै मात्र बढेको छ । वित्तीय विवरण अनुसार बैंकले दोस्रो त्रैमाससम्ममा ८० करोड ७७ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आवको यसै अवधिको तुलनामा १ करोड ४४ लाख रुपैयाँले मात्रै धेरै हो।

शुल्क कमिसन आम्दानीमा भएको सुधार र गैर सञ्चालन आम्दानीका कारण बैंकको सञ्चालन नाफा र खुद नाफा सुधारिएको हो। शुल्क कमिसन आय ८६ प्रतिशतले बढाएपछि बैंकको सञ्चालन मुनाफा ७ करोड ४५ लाख रुपैयाँ बढेर १ अर्ब १२ करोड ६२ लाख पुगेको छ।
८ अर्ब ८ करोड ८२ लाख ९९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी १९ रुपैयाँ ९७ पैसा रहेको उल्लेख छ । यो गत आवको ५ प्रतिशत बोनस पूँजीकरण अघिको पूँजीका आधारमा गणना गरेको इपिएस हो।

बैंकको पुस मसान्तसम्ममा वितरण योग्य मुनाफा ४३ करोड ८१ लाख रुपैयाँ ३२ हजार रुपैयाँ रहेको छ। यसबाट बैंकले १०.८३ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्दछ । एनएफआरएस रिर्पोट अनुसार राष्ट्र बैंकले तोकेको विभिन्न शिर्षकहरुको व्यवस्था अन्तर्गत रकम छुट्टाएपश्चात कायम हुन आउने फ्रि प्रोफिटलाई बैंकले आफ्ना शेयरधनीलाई लाभांशको वितरणमा उपयोग गर्न सक्दछ।

यस अवधिसम्ममा जगेडा कोषको आकार १०.९३ प्रतिशतले सुधार भई ३ अर्ब ६८ करोड १३ लाख रुपैयाँ पुगेको छ भने लाभांश वितरण पश्चात एक अर्ब माथि रहेको शेयरधनी कोषमा ८८ करोड १८ लाख रुपैयाँमा खुम्चिएको छ ।

पुस मसान्तसम्ममा खराब कर्जा अनुपात ०.१४ बिन्दुले बढेर १.९२ प्रतिशत पुगेको छ। यस्तै बैंकको प्रतिशेयर नेटवर्थ १५६.४२ रुपैयाँ, पूँजी कोष अनुपात १२.९५ प्रतिशत, कोषको लागत ७.३६ प्रतिशत, आधारदर ९.९२ प्रतिशत, स्प्रेडदर ४.८० प्रतिशत र मूल्य आम्दानी अनुपात १०.१६ गुणा छ।